साउदी अरबमाथि हुथी आक्रमणको तनावबीच ब्रेन्ट कच्चा तेलको मूल्य ११३.७५ डलर पुग्यो

साउदी अरबमाथि हुथी आक्रमणको तनावबीच ब्रेन्ट कच्चा तेलको मूल्य ११३.७५ डलर पुग्यो

काठमाडौं । साउदी अरबमाथि हुथी विद्रोहीको आक्रमणका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ११३.७५ अमेरिकी डलर पुगेको छ।

शुक्रबार ब्रेन्ट क्रुड आयलको मूल्य ०.५ प्रतिशतले वृद्धि हुँदै प्रतिब्यारेल ११३.७५ डलर पुगेको हो। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) क्रुड आयलको मूल्य ०.७ प्रतिशतले बढेर प्रतिब्यारेल १००.१३ डलर पुगेको छ।

उपलब्ध विवरणअनुसार सन् २०२६ मे ४ पछि ब्रेन्ट कच्चा तेलको मूल्य पहिलोपटक यो स्तरमा पुगेको हो।

रोयटर्सका अनुसार साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले हुथी विद्रोहीको आक्रमणबाट उत्पन्न सुरक्षा जोखिमलाई ध्यानमा राख्दै धहरानस्थित आफ्नो मुख्यालय खाली गर्न यसअघि नै आदेश दिएको छ।

वित्तीय संस्था आईएनजीका विज्ञहरूले जारी गरेको टिप्पणीमा मध्यपूर्वमा पुनः तनाव बढ्ने सम्भावनाले तेल तथा ग्यास बजारमा चिन्ता बढाएको उल्लेख छ। क्षेत्रीय तनाव थप चर्किएमा तेलको आपूर्ति प्रभावित हुन सक्ने र त्यसले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको दबाब सिर्जना गर्न सक्ने उनीहरूको आकलन छ।

यसैबीच, लिबियाको हमादा र तिहारा तेल क्षेत्रबाट जाविया बन्दरगाहसम्म तेल पुर्‍याउने पाइपलाइनको एउटा भल्भ बन्द गरिएको छ। यसका कारण तेल उत्पादनमा कमी आएको विवरणमा उल्लेख छ।

मध्यपूर्वको सुरक्षा अवस्था र तेल उत्पादन तथा ढुवानीमा देखिएका अवरोधले विश्व बजारमा कच्चा तेलको मूल्यमा थप उतारचढाव आउन सक्ने देखिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!