काठमाडौं । साउदी अरबको आभा सहरमा सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय आपत्कालीन चेतावनी जारी गरिएको छ। बीबीसी उर्दूका अनुसार स्थानीय प्रशासनले नागरिकलाई शान्त रहन र आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
साउदी नागरिक सुरक्षा विभागले जारी गरेको निर्देशनअनुसार नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान तथा घरभित्रै झ्याल नभएका कोठामा बस्न भनिएको छ। खतरा टरेको सूचना नआएसम्म अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र खुला स्थान, झ्याल, बालकनी तथा छतबाट टाढा रहन पनि आग्रह गरिएको छ।
विभागका अनुसार घरबाहिर रहेका व्यक्तिले नजिकैको बलियो भवन वा पर्खालको आडमा सुरक्षित आश्रय लिनुपर्नेछ। त्यस्तै, सवारीसाधन चलाइरहेका बेला चेतावनी प्राप्त भएमा सुरक्षित स्थानमा गाडी रोकेर पुल तथा अग्ला भवनबाट टाढा रहन निर्देशन दिइएको छ।
अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा नजान र अनावश्यक भीडभाड नगर्न पनि नागरिकलाई आग्रह गरेका छन्।
प्रशासनले सम्भावित मिसाइल तथा ड्रोन आक्रमण वा त्यसबाट भएको क्षतिसम्बन्धी जानकारी, तस्बिर तथा भिडियो खिच्न र सामाजिक सञ्जालमा सार्वजनिक गर्न प्रतिबन्ध लगाएको छ। यस्तो गतिविधिमा संलग्न भए कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
साउदी अधिकारीहरूले आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र आपत्कालीन अवस्था सिर्जना भए सम्बन्धित उद्धार तथा सुरक्षा निकायको नम्बरमा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेका छन्।