लेबनानमा घर गुमाएका परिवारलाई १४ हजार डलरसम्म दिने हिजबुल्लाहको घोषणा

लेबनानमा घर गुमाएका परिवारलाई १४ हजार डलरसम्म दिने हिजबुल्लाहको घोषणा

काठमाडौं। इजरायलसँगको पछिल्लो युद्धमा घर पूर्ण रूपमा ध्वस्त भएका वा बस्न अयोग्य बनेका लेबनानी परिवारलाई हिजबुल्लाहले १४ हजार अमेरिकी डलर (करिब १८ लाख ६० हजार नेपाली रुपैयाँ) सम्म आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख अली दामोसले पत्रकार सम्मेलनमार्फत प्रभावित परिवारका लागि क्षतिपूर्ति तथा पुनर्वास सहयोगको योजना सार्वजनिक गरेका हुन्।

योजनाअनुसार, बेरुत सहर र त्यसका दक्षिणी उपनगरमा घर गुमाएका परिवारले १४ हजार अमेरिकी डलर पाउनेछन्। लेबनानका अन्य क्षेत्रमा घर ध्वस्त भएका परिवारलाई भने १२ हजार अमेरिकी डलर उपलब्ध गराइनेछ।

कुल सहयोग रकममध्ये ८ हजार अमेरिकी डलर नयाँ फर्निचर तथा घरायसी सामान खरिदका लागि छुट्याइएको छ। बाँकी रकम नयाँ घर भाडामा लिन प्रयोग गर्न सकिने जनाइएको छ।

सहयोग प्राप्त गर्न प्रभावित परिवारले हिजबुल्लाहले स्थापना गरेका विशेष समीक्षा केन्द्रमा पुगेर निवेदन दिनुपर्नेछ। यद्यपि, यस योजनाबाट कति परिवार लाभान्वित हुनेछन् र कुल कति रकम खर्च हुनेछ भन्नेबारे संगठनले स्पष्ट पारेको छैन। सहयोगका लागि आवश्यक रकम इरानबाट प्राप्त भएको हुन सक्ने अनुमान गरिएको छ।

पत्रकार सम्मेलनमा दामोसले लेबनान सरकारको आलोचना गर्दै युद्धका कारण विस्थापित नागरिकलाई सहयोग तथा पुनर्वास गराउन सरकार असफल भएको आरोप लगाए।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार युद्ध उत्कर्षमा पुगेका बेला लेबनानमा करिब १२ लाख मानिस विस्थापित भएका थिए। युद्धविरामपछि धेरैजसो घर फर्किए पनि तीन लाखभन्दा बढी मानिस अझै घरविहीन वा विस्थापित अवस्थामा रहेको जनाइएको छ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले हिजबुल्लाहको क्षतिपूर्ति योजनाका लागि घोषणा गरिएको रकमको उपलब्धतामाथि प्रश्न उठाएका छन्। उनले इरानबाट आउन सक्ने सम्भावित आर्थिक स्रोत अमेरिकी प्रतिबन्धका कारण अवरुद्ध हुने दाबी गरेका थिए।

अमेरिकी पक्षको दाबीको खण्डन गर्दै दामोसले आफ्नो संगठन अमेरिकी प्रशासनका भनाइबाट विचलित नहुने बताएका छन्। उनले प्रभावित नागरिकलाई सहयोग गरी उनीहरूलाई सामान्य जीवनमा फर्काउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!