काठमाडौं । अमेरिकी फस्ट लेडी मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम गराउन आफूले विशेष मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको बताएकी छन्। उनले युक्रेनको ओलेश्की सहर र आसपासको खेरसन क्षेत्रमा मानवीय सहायता पुर्याउन तथा सर्वसाधारणलाई सुरक्षित रूपमा बाहिर निकाल्न दुवै देशबीच सहमति गराउन सफल भएको दाबी गरेकी हुन्।
बिहीबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा बोल्दै मेलानियाले रुस र युक्रेनले शुक्रबार, अक्टोबर २३ मा दुवै भाषामा लिखित सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिइन्। उनले यस प्रक्रियामा सहयोग गर्ने दुवै देशका अधिकारीहरूको प्रशंसा पनि गरिन्।
मेलानियाका अनुसार उनलाई गत सेप्टेम्बरमा ओलेश्की सहरमा गम्भीर मानवीय सङ्कट उत्पन्न भएको जानकारी प्राप्त भएको थियो। अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनले तत्काल आफ्ना प्रतिनिधि मार्क बेकम्यानलाई रुस र युक्रेनसँग सम्पर्क गरी आफ्नो तर्फबाट वार्ता अघि बढाउन निर्देशन दिएकी थिइन्।
उनले दुवै देशले आफ्नो सहभागितालाई स्वागत गरेको र यस क्षेत्रमा युद्धविराम गराउने यसअघिका प्रयास सफल हुन नसकेको स्वीकार गरेको बताइन्। रुस र युक्रेनले आफूलाई ‘एक्सक्लुसिभ इन्टरमेडियरी’ अर्थात् विशेष मध्यस्थकर्ताका रूपमा स्वीकार गर्दै सहकार्य गर्न तयार भएको उनको भनाइ छ।
मेलानियाका अनुसार यस पहलको मुख्य उद्देश्य ओलेश्कीका नागरिकलाई खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक मानवीय सहायता उपलब्ध गराउनु र सर्वसाधारणलाई सुरक्षित रूपमा बाहिर निकाल्न मार्ग तयार गर्नु थियो।
उनले आफ्नो मध्यस्थताको भूमिका रुस तथा युक्रेनले तयार पारेका लिखित सम्झौतामा समेत उल्लेख गरिएको बताइन्। यस प्रक्रियाका लागि आफू र मार्कले यसअघि रुस तथा युक्रेनमा रहेका बालबालिकालाई उनीहरूका परिवारसँग पुनर्मिलन गराउन स्थापना गरिएका सम्पर्क माध्यमहरू प्रयोग गरेको पनि उनले जानकारी दिइन्।
मेलानियाका अनुसार दुवै देशका मानवीय, सैन्य तथा सरकारी अधिकारीहरूले अभियानका विभिन्न पक्षमा समन्वय गर्दै निरन्तर काम गरेका थिए। अमेरिकाले पनि सुरुदेखि अन्तिम चरणसम्म दुवै देशका टोलीसँग सहकार्य गरेको उनले बताइन्।
उनले युद्धविरामका सबै पक्षलाई व्यवस्थित गर्न र कार्यान्वयनमा ल्याउन दुवै देशले सद्भावपूर्वक गरेको प्रयासको प्रशंसा गरिन्।