काठमाडौं । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । आक्रमणका बेला स्टेसनमा रोकिएको रेलमा यात्रुहरू चढिरहेका थिए ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसको जेट इन्जिनयुक्त ड्रोनले निप्रो रेलवे स्टेसनको भिडभाडयुक्त प्लेटफर्मलाई लक्षित गरी आक्रमण गरेको हो ।
आक्रमणमा परी १३ जनाको मृत्यु हुनुका साथै अन्य १३ जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
समाचारअनुसार ड्रोन आक्रमण हुँदा यात्रुहरू जापोरिजिया सहरका लागि छुट्न लागेको रेलमा चढ्न प्रतीक्षा गरिरहेका थिए । विस्फोटबाट उछिट्टिएका छर्राले रेलमा समेत क्षति पुर्याएको बताइएको छ ।
रुसले युक्रेनको रेल सञ्जाललाई बारम्बार निशाना बनाउँदै आएको छ । युक्रेनको विशाल रेल सञ्जाल यात्रुहरूको आवतजावतका साथै अत्यावश्यक सामग्री ढुवानीका लागि महत्त्वपूर्ण माध्यमका रूपमा प्रयोग हुँदै आएको छ ।