झाँसी । बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती वारेन्ट (एनबीडब्ल्यू) जारी गरेको छ ।
१६ वर्षअघि प्रसारण भएको ‘राखी का इन्साफ’ नामक टेलिभिजन कार्यक्रममा झाँसीका २४ वर्षीय लक्ष्मणप्रसाद अहिरवारलाई अपमानित गरेको र त्यसको केही दिनपछि उनले आत्महत्या गरेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।
सिभिल जज जुडिसियल (फास्ट ट्र्याक कोर्ट, सीएडब्ल्यू) अञ्जलीको अदालतले राखी सावन्त र उनको टोलीलाई पक्राउ गरी सन् २०२६ डिसेम्बर १ मा अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको छ ।
प्रेमनगर थाना क्षेत्रका बासिन्दा तथा तरकारी व्यापारी लक्ष्मणप्रसादलाई सन् २०१० मा प्रसारित उक्त कार्यक्रममा राखीले उनकी पत्नी र परिवारका सदस्यसामु ‘नामर्द’ र ‘नपुंसक’ भन्दै अपमान गरेको आरोप छ । उक्त घटनापछि केही दिनमै लक्ष्मणप्रसादले आत्महत्या गरेको बताइएको छ ।
घटनापछि मृतककी आमाले दिएको उजुरीका आधारमा प्रेमनगर प्रहरीले राखी सावन्त र उनको टोलीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अदालतमा आरोपपत्र पेस गरेपछि मुद्दाको सुनुवाइ हुँदै आएको थियो ।
तर, पटक–पटकको सुनुवाइमा राखी अदालतमा उपस्थित नभएपछि अक्टोबर १६ मा उनीविरुद्ध गैरजमानती वारेन्ट जारी गरिएको समाचारमा उल्लेख छ ।
वारेन्टबारे प्रतिक्रिया दिँदै राखी सावन्तले आफू कार्यक्रममा प्रस्तोताको भूमिकामा मात्रै रहेको र टेलिभिजन च्यानलले जे भन्न लगाउँथ्यो, त्यही बोलेको दाबी गरेकी छन् । उनले जेल जानुपर्ने अवस्था आए पनि त्यसका लागि तयार रहेको बताएको जनाइएको छ ।
यस मुद्दाको अर्को सुनुवाइ आगामी डिसेम्बर १ मा हुने तय भएको छ ।