काठमाडौं । अमेरिकाले युक्रेन हुँदै युरोपमा रूसी प्राकृतिक ग्यासको बिक्री पुनः सुरु गर्ने प्रस्ताव अघि सारेको छ। रूस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति गराउने प्रयासस्वरूप अमेरिकाले यस्तो प्रस्ताव अघि सारेको अमेरिकी पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ले जनाएको छ।
अमेरिकी, युरोपेली र युक्रेनी अधिकारीहरूका अनुसार प्रस्ताव कार्यान्वयन भए रूसले युक्रेन हुँदै पाइपलाइनमार्फत युरोपमा प्राकृतिक ग्यास बिक्री गर्न पाउनेछ। तर युरोपेली प्रतिबन्ध छल्न अमेरिकी मध्यस्थ कम्पनी प्रयोग गर्ने योजना बनाइएको छ। यसबाट अमेरिकी लगानीकर्ताले समेत आर्थिक लाभ लिन सक्नेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत ज्यारेड कुश्नर र स्टिभ विटकफले गत सेप्टेम्बरमा मस्को र किभ भ्रमणका क्रममा यो प्रस्ताव अघि सारेका थिए। छलफलमा सहभागी अधिकारीहरूका अनुसार रूसलाई युद्धविरामका लागि सहमत गराउने आर्थिक प्रोत्साहनका रूपमा प्रस्ताव ल्याइएको हो।
अमेरिकी वार्ताकारहरूको बुझाइमा युरोपको ठूलो ऊर्जा बजारमा पुनः प्रवेश गर्ने अवसरले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न सहमत गराउन सक्छ। यसबाट युक्रेनले पनि आफ्नो भूमिबाट ग्यास पारवहन गराएबापत शुल्क प्राप्त गर्नेछ।
तर अमेरिकी प्रस्ताव युरोपेली संघ (इयू) को वर्तमान नीतिसँग मेल खाँदैन। इयूले सन् २०२७ को अन्त्यसम्म रूसी प्राकृतिक ग्यासको आयात पूर्ण रूपमा बन्द गर्ने कानुनी व्यवस्था गरिसकेको छ। युरोपका प्रमुख देशहरूले पनि रूसलाई रणनीतिक सुरक्षा चुनौतीका रूपमा हेर्दै पुनः रूसी ऊर्जा आपूर्तिमा निर्भर हुन नचाहेको बताउँदै आएका छन्।
इयूका ऊर्जा आयुक्त डान योर्गेन्सेनले गत अक्टोबरमा एक हंगेरी सञ्चारमाध्यमसँग कुरा गर्दै रूसी ग्यास आयातमाथिको प्रतिबन्ध स्थायी हुनुपर्ने बताएका थिए। रूससँग भोलि नै शान्ति भए पनि उसलाई विश्वास गर्न नसकिने उनको भनाइ थियो।
युरोपेली अधिकारीहरूले निजी छलफलमा अमेरिकी प्रस्तावको आलोचना गरेका छन्। एक नर्डिक अधिकारीले रूसी ग्यास खरिद पुनः सुरु गर्नु युरोपेली मूल्य र मान्यताविपरीत हुने बताएका छन्। अर्का वरिष्ठ अधिकारीले यसलाई दोस्रो विश्वयुद्धअघि बेलायती प्रधानमन्त्री नेभिल चेम्बरलेनले हिटलरसँग सम्झौता गरी चेकोस्लोभाकियालाई छाडिदिएको घटनासँग तुलना गरेका छन्।
अमेरिकी प्रस्तावअनुसार युरोपमा ग्यास बिक्री गरेर रूसले प्राप्त गर्ने रकम तेस्रो मुलुकको अधिकार क्षेत्रमा रहने विशेष खातामा जम्मा गरिनेछ। यस्तो खातालाई ‘एस्क्रो खाता’ भनिन्छ। यस व्यवस्थाबाट रूसले ग्यास बिक्रीबाट प्राप्त रकम तत्काल युद्ध खर्चमा प्रयोग गर्न नपाउने अमेरिकी अधिकारीहरूको तर्क छ।
अमेरिकाले युरोपलाई ग्यासको मूल्य घटाउने उपायका रूपमा समेत प्रस्ताव अघि सारेको छ। आगामी हिउँदमा ऊर्जा अभाव हुन सक्ने चिन्ताबीच सस्तो ग्यासले युरोपलाई राहत दिने उसको विश्वास छ।
यो प्रस्ताव भने ट्रम्पको पहिलो कार्यकालको नीतिभन्दा फरक छ। त्यतिबेला उनले जर्मनीकी तत्कालीन चान्सलर एन्जेला मर्केललाई रूसबाट ग्यास ल्याउन निर्माण भइरहेको नर्ड स्ट्रिम–२ पाइपलाइनका विषयमा आलोचना गरेका थिए। उक्त पाइपलाइनले जर्मनीलाई रूसी प्रभावमा पार्न सक्ने चेतावनी दिँदै ट्रम्प प्रशासनले सन् २०१९ मा त्यसविरुद्ध प्रतिबन्धसमेत लगाएको थियो।
त्यसको दुई वर्षपछि रूसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गर्यो। ऊर्जा बिक्रीबाट प्राप्त आम्दानी रूसी सेनाका लागि आर्थिक स्रोत बनिरहेको थियो। युरोप रूसी ग्यासमा अत्यधिक निर्भर भएकाले कडा प्रतिक्रिया दिन नसक्ने पुटिनको आकलन रहेको थियो।
युद्धपछि युरोपले ऊर्जा निर्भरतालाई सुरक्षा जोखिमका रूपमा लिन थाल्यो। युद्धअघि युरोपले खपत गर्ने प्राकृतिक ग्यासको करिब ४५ प्रतिशत रूसबाट आउने गरेकोमा अहिले त्यो घटेर ११ प्रतिशतमा झरेको छ। युरोपको कुल ग्यास खपतमा अमेरिकी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को हिस्सा करिब ३० प्रतिशत पुगेको छ।
रूसबाट जर्मनी पुग्ने नर्ड स्ट्रिम–१ र नर्ड स्ट्रिम–२ पाइपलाइन पनि अहिले सञ्चालनमा छैनन्। सन् २०२२ को सेप्टेम्बरमा समुद्रमुनि भएका विस्फोटबाट दुवै पाइपलाइन क्षतिग्रस्त भएका थिए। नर्ड स्ट्रिम–१ ले त्यही वर्ष अगस्टदेखि ग्यास आपूर्ति बन्द गरेको थियो भने नर्ड स्ट्रिम–२ कहिल्यै सञ्चालनमा आउन पाएन।
तर युक्रेन हुँदै स्लोभाकिया, अस्ट्रिया र जर्मनी पुग्ने पुरानो पाइपलाइन सञ्जाल भने पुनः सञ्चालन गर्न सकिने अवस्थामा छ। सन् २०२५ जनवरीमा आपूर्ति बन्द हुनुअघिसम्म युद्धकै बीचबाट सीमित मात्रामा रूसी ग्यास यही मार्ग हुँदै युरोप पुगिरहेको थियो।
इरान युद्धले बदल्न सक्छ युरोपको अडान
अमेरिकी प्रस्तावप्रति युरोपको प्रतिरोध कमजोर हुन सक्ने अर्को कारण इरान युद्ध पनि हो। युद्धका कारण कतारबाट हुने एलएनजी आपूर्ति प्रभावित भएको छ। विश्व बजारमा ऊर्जा मूल्य बढ्दा इरान युद्धका कारण मात्रै युरोपले थप १०० अर्ब युरो ऊर्जा खर्च गर्नुपरेको इयूको तथ्यांक छ।
युरोपका भूमिगत ग्यास भण्डार अहिले करिब ७५ प्रतिशत भरिएका छन्। तर आगामी हिउँदमा प्रवेश गर्दा भण्डारण पछिल्ला नौ वर्षको औसतभन्दा कम हुने अनुमान छ।
यसैबीच, जर्मनीको दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले सन् २०२८ को निर्वाचनलाई लक्षित गर्दै सस्तो रूसी ग्यासको आयात पुनः सुरु गर्नुपर्ने विषयलाई प्रमुख चुनावी मुद्दा बनाएको छ।
कूटनीतिक अधिकारीहरूका अनुसार युक्रेनले युद्धविरामको हिस्साका रूपमा रूसी ग्यास बिक्रीलाई समर्थन गरे युरोपको अडान परिवर्तन गर्न सहज हुन सक्छ। रूसी आक्रमणबाट युक्रेनका ऊर्जा संरचना क्षतिग्रस्त भइरहेका बेला ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति भए युक्रेनी सहरहरूमा हुन सक्ने विद्युत् संकट र मानवीय विपत्ति टार्न सहयोग पुग्न सक्छ।
तर युक्रेनले यसअघि अमेरिकी दबाबमा रूसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण झन्डै दुई साताका लागि रोके पनि रूसले युक्रेनी ऊर्जा संरचनामाथिको आक्रमण जारी राखेको थियो। त्यसपछि युक्रेनले पुनः रूसी प्रशोधन केन्द्रलाई निशाना बनाउन थालेको छ।
नोभेम्बरको मध्यतिर अबुधाबीमा अमेरिका, रूस र युक्रेनबीच त्रिपक्षीय शान्तिवार्ता गर्ने तयारी छ। त्यसअघि ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति गराउने प्रयास भइरहेको छ। तर रूसले अहिलेसम्म अमेरिकी प्रस्ताव स्वीकार गरिसकेको छैन।