युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाको स्वीकृति, आपूर्तिमा वर्षौं लाग्न सक्ने

युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाको स्वीकृति, आपूर्तिमा वर्षौं लाग्न सक्ने

बीबीसी । अमेरिकाले रुसको क्षेप्यास्त्र आक्रमणबाट रक्षा गर्न युक्रेनका लागि अत्यावश्यक मानिएका ५०० वटा ‘प्याट्रियट’ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ती हतियार युक्रेन आइपुग्न केही वर्ष लाग्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र खरिदको लागत २ अर्ब १० करोड अमेरिकी डलर (करिब १ अर्ब ६० करोड पाउन्ड) हुनेछ। यसको सम्पूर्ण खर्च युक्रेनका युरोपेली सहयोगी राष्ट्र र क्यानडाले व्यहोर्नेछन्।

शुक्रबार राति राष्ट्रपति जेलेन्स्कीले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसाल्न प्रभावकारी मानिने प्याट्रियट क्षेप्यास्त्रको आपूर्ति प्रक्रिया तीव्र बनाउन अमेरिकासँग पुनः आग्रह गरेका थिए।

अमेरिका र युक्रेनबीचको पछिल्लो घटनाक्रम राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच यसै महिनाको सुरुमा भएको विवादपछि आएको हो। रुससँगको युद्ध अन्त्य गर्न सम्झौता गर्ने उद्देश्यले युक्रेनमा नयाँ नेतृत्व आवश्यक रहेको ट्रम्पले बताएका थिए। रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो।

अक्टोबर २० मा नर्वेको ओस्लोमा जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूसँग वार्ता गरेपछि दुई देशबीचको तनाव केही मत्थर भएको थियो।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रस्तावित हतियार बिक्रीले युरोपको राजनीतिक तथा आर्थिक स्थिरताका लागि महत्त्वपूर्ण साझेदार युक्रेनको सुरक्षा सुदृढ पार्ने र अमेरिकी विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यलाई सहयोग पुर्‍याउने उल्लेख गरेको छ।

विज्ञप्तिअनुसार युक्रेनले क्यानडा, जर्मनी र नर्वेको अनुदान तथा युरोपेली संघको युक्रेन सहायता ऋणमार्फत हतियार खरिदको भुक्तानी गर्नेछ। यसका लागि अमेरिकी कम्पनी ‘लकहीड मार्टिन’ मुख्य ठेकेदार रहनेछ। अमेरिकी सरकारले यस बिक्रीमा कुनै आर्थिक रकम खर्च नगर्ने पनि मन्त्रालयले जनाएको छ।

यसैबीच, अमेरिकाको एटलान्टामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोको आतिथ्यतामा भइरहेको जी–२० देशका परराष्ट्रमन्त्रीहरूको बैठकमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभको उपस्थितिलाई लिएर युरोपेली कूटनीतिज्ञहरूले विरोध जनाएका छन्। उनीहरूले बैठकको औपचारिक सामूहिक तस्बिर खिचाउने कार्यक्रममा सहभागी हुन अस्वीकार गरेका थिए।

बैठकमा बेलायती विदेशमन्त्री एड मिलिब्यान्डले लाभरोभलाई सम्बोधन गर्दै युक्रेन युद्धमा रुसलाई आक्रमणकारी पक्षका रूपमा चित्रित गरेका थिए। उनले युक्रेनमा निर्दोष नागरिकको हत्या भएको आरोपसमेत लगाएका थिए।

यसअघि जेलेन्स्कीले युक्रेनलाई अत्यावश्यक रहेका र मौज्दात घट्दै गएका क्षेप्यास्त्र आपूर्तिको सम्झौतामा हस्ताक्षर गर्न अमेरिका झन्डै एक महिनादेखि ढिलाइ गरिरहेको बताएका थिए।

शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी निर्णयको स्वागत गर्दै उनले युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र तत्काल आवश्यक रहेको बताएका छन्।

उनका अनुसार जाडोयाम नजिकिँदै गर्दा रुसले युक्रेनका प्रमुख ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको छ। पछिल्लो दुई सातामा मात्रै युक्रेनको विद्युत् प्रणालीका महत्त्वपूर्ण संरचनामा रुसले ३० भन्दा बढी आक्रमण गरेको उनको दाबी छ।

युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र आवश्यक भए पनि विश्वव्यापी रूपमा यसको अभाव छ। अमेरिकाले इरानविरुद्धको युद्धमा समेत यी क्षेप्यास्त्र प्रयोग गरिरहेकाले आपूर्तिमा थप दबाब परेको छ।

स्वीकृत गरिएको ५०० क्षेप्यास्त्रको उत्पादन तथा आपूर्ति तालिका भने स्पष्ट भइसकेको छैन। यो सम्झौता तत्काल उपलब्ध मौज्दात क्षेप्यास्त्रका लागि नभई नयाँ उत्पादनका लागि भएकाले युक्रेनले तत्काल प्राप्त गर्ने सम्भावना कम रहेको बताइएको छ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार हाल प्रतिवर्ष करिब ६०० वटा प्याट्रियट क्षेप्यास्त्र उत्पादन हुँदै आएका छन्। उत्पादन क्षमता सीमित रहेकाले युक्रेनले माग गरेका क्षेप्यास्त्र प्राप्त गर्न लामो समय लाग्न सक्ने देखिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!