काठमाडौं । युक्रेनको जापोरेजिया क्षेत्रस्थित कोमिसुवाखा गाउँमा भएको रुसी हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ। आक्रमणमा मानिसहरूलाई सुरक्षित आश्रय दिने तथा राहत सामग्री वितरण गर्ने प्रयोजनमा प्रयोग हुँदै आएको एउटा विद्यालय ध्वस्त भएको छ।
नोभेम्बर २ मा भएको उक्त आक्रमणको दुई दिनपछि पनि उद्धार कार्य जारी रहेको छ। बुधबार उद्धारकर्ता तथा सैनिकहरू भग्नावशेष हटाएर बेपत्ता मानिसहरूको खोजीमा जुटेका थिए। भग्नावशेषमुनि केही व्यक्ति जीवितै भेटिन सक्ने आशामा खोजी भइरहेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो आक्रमण यस वर्ष युक्रेनमा सर्वसाधारणमाथि भएका सबैभन्दा घातक आक्रमणमध्ये एक हो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मानिसहरू राहत सामग्री लिन विद्यालय पुगेका बेला रुसी सेनाले हवाई बम प्रहार गरेको बताएका छन्। उनका अनुसार उद्धार तथा आश्रयका लागि प्रयोग भइरहेको उक्त स्थानमा पुनः बमबारी गरिएको थियो।
युद्धको अग्रपंक्तिनजिकै रहेकाले विद्यालय लामो समयदेखि बन्द थियो। तर प्रत्येक सोमबार त्यहाँ सर्वसाधारणलाई राहत सामग्री वितरण गरिन्थ्यो। आवश्यक परेको अवस्थामा स्थानीय बासिन्दाले उक्त भवनमा आश्रयसमेत लिने गरेका थिए।
युक्रेनको आपत्कालीन सेवाका अनुसार मृतकमा उद्धार टोलीका दुई सदस्य र चार प्रहरी पनि छन्। आक्रमणपछि सार्वजनिक भएका दृश्यमा सैनिकहरूले शवलाई झोलामा राखेर भ्यानमा लैजाँदै गरेको देखिन्छ। उद्धार टोलीले ठूला मेसिन प्रयोग गरी भग्नावशेष हटाइरहेको छ। यस क्रममा सम्भावित ड्रोन आक्रमणप्रति पनि सतर्कता अपनाइएको छ।
यसैबीच, रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले कोमिसुवाखा र आसपासका अन्य दुई क्षेत्रमा युक्रेनी सैन्य अखडालाई निशाना बनाएको दाबी गरेको छ। उक्त कारबाहीमा युक्रेनका २५ सैनिक मारिएको मन्त्रालयको भनाइ छ। तर युक्रेनले भने रुसी सेनाले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएको छ।
घटनाप्रति इजरायलको परराष्ट्र मन्त्रालयले पनि दुःख व्यक्त गरेको छ। मन्त्रालयले सामाजिक सञ्जालमार्फत ४० जनाको मृत्यु भएको खबरप्रति दुःख व्यक्त गर्दै आक्रमणको निन्दा गरेको छ। साथै, मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। अझै धेरै मानिस बेपत्ता रहेको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको छ।