युक्रेनी ड्रोनद्वारा रूसको यान्डेक्स डेटा सेन्टरमा लगातार दोस्रो दिन आक्रमण

युक्रेनी ड्रोनद्वारा रूसको यान्डेक्स डेटा सेन्टरमा लगातार दोस्रो दिन आक्रमण

काठमाडौं । युक्रेनले रूसको आन्तरिक भूभागमा रहेका प्राविधिक पूर्वाधारलाई लक्षित गर्दै ड्रोन आक्रमण तीव्र बनाएको छ। शुक्रबार युक्रेनी ड्रोनले रूसको कलुगा क्षेत्रमा रहेको प्रविधि कम्पनी यान्डेक्सको प्रमुख डेटा सेन्टरमा आक्रमण गरेका छन्। पछिल्लो दुई दिनमा कम्पनीको डेटा सेन्टरमाथि भएको यो दोस्रो आक्रमण हो।

मस्कोको दक्षिणपश्चिममा पर्ने कलुगास्थित डेटा सेन्टरमा भएको आक्रमणबाट यसका अधिकांश मोड्युलमा क्षति पुगेको बताइएको छ। यसअघि बिहीबार मस्कोको दक्षिणपूर्वमा पर्ने सासोभो सहरस्थित यान्डेक्सको अर्को डेटा सेन्टरमा पनि युक्रेनी ड्रोनले आक्रमण गरेका थिए। उक्त केन्द्रमा कम्पनीका कृत्रिम बुद्धिमत्ता (एआई) मोडल विकास गर्न प्रयोग गरिने सुपरकम्प्युटरहरू राखिएका थिए।

युक्रेनी हतियार निर्माता कम्पनी फायरप्वाइन्टका अनुसार आक्रमणमा ‘एफपी–१’ ड्रोन प्रयोग गरिएको थियो। आक्रमणपछि यान्डेक्सका अधिकांश डिजिटल प्रणाली प्रभावित भएको दाबी गरिएको छ।

‘रूसको गुगल’ भनेर चिनिने यान्डेक्स सर्च इन्जिन, क्लाउड कम्प्युटिङ, नेभिगेसन, अनलाइन खाना अर्डर तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी सेवाका लागि परिचित छ। कम्पनीको डेटा सेन्टरमा भएको क्षतिले यी सेवामा निर्भर लाखौँ प्रयोगकर्ता तथा विभिन्न व्यावसायिक एपहरूको डेटा सुरक्षा र सेवा सञ्चालनमा असर पर्न सक्ने चिन्ता बढेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले पछिल्ला दिनमा युक्रेनका विभिन्न सहर र डिजिटल पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिरहेको भन्दै त्यसको जवाफमा प्रतिकारात्मक कदम चालिएको सङ्केत गरेका छन्।

यान्डेक्सका डेटा सेन्टरमाथि भएका लगातारका आक्रमणले रूसको डिजिटल तथा प्राविधिक पूर्वाधारको सुरक्षाबारे प्रश्न उठाएको छ। यद्यपि, क्षतिको पूर्ण विवरण र कम्पनीका सेवामा परेको वास्तविक प्रभावबारे थप जानकारी आउन बाँकी छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!