युक्रेन–अमेरिका सम्बन्ध तनावपूर्ण बन्दै, जेलेन्स्कीसँग वार्ता गर्न अमेरिकी विशेष दूत ओस्लोमा

युक्रेन–अमेरिका सम्बन्ध तनावपूर्ण बन्दै, जेलेन्स्कीसँग वार्ता गर्न अमेरिकी विशेष दूत ओस्लोमा

बीबीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्ध बिग्रिँदै गएका बेला अमेरिकी विशेष दूत स्टिभ विटकफ नर्वेको राजधानी ओस्लो पुगेका छन्। उनले जेलेन्स्कीसँग वार्ता गर्ने कार्यक्रम छ।

नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरेका अनुसार युक्रेनका लागि यो अत्यन्त संवेदनशील समय हो। त्यसैले जेलेन्स्कीले अमेरिका र युरोपेली सहयोगीहरूसँगको बैठक आयोजना गर्न ओस्लो र छिमेकी फिनल्यान्डलाई आग्रह गरेका थिए।

बैठकअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनलाई गुप्तचर सूचना उपलब्ध नगराउँदा त्यहाँका नागरिकको ज्यान गइरहेको भन्ने आरोपलाई ‘स्क्यान्डलपूर्ण’ र ‘आपत्तिजनक’ भन्दै खारेज गरेका छन्।

जेलेन्स्कीका सैन्य प्राविधिक सल्लाहकार सेर्ही ‘फ्ल्यास’ बेस्क्रेस्तनोभले बीबीसीसँग कुरा गर्दै अमेरिकाबाट समयमै भरपर्दो पूर्वचेतावनी नआउँदा धनजनको क्षति भइरहेको बताएका थिए। त्यसपछि रुबियोको यस्तो प्रतिक्रिया आएको हो।

“यो निकै अनौठो देखिन्छ,” बेस्क्रेस्तनोभले भने, “कहिलेकाहीँ हामीले आक्रमण हुनुअघि नै सूचना पाउँछौँ भने कहिलेकाहीँ पाउँदैनौँ।”

हालैका साताहरूमा किएभ र वासिङ्टनबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ। ट्रम्पले युक्रेनमा नयाँ राष्ट्रपति आउने समय भएको टिप्पणी गर्नुका साथै युक्रेनको तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने बताएका छन्।

नर्वेका प्रधानमन्त्री स्टोरेले ओस्लो बैठकको उद्देश्य अमेरिका र युक्रेनबीचको सम्बन्धलाई “अझ रचनात्मक बाटोतर्फ” लैजानु रहेको बताएका छन्। उनले संसद्मा पत्रकारहरूसँग कुरा गर्दै युद्धको अन्त्य कूटनीतिक माध्यमबाट दिगो र न्यायपूर्ण शान्तिसहित हुनुपर्नेमा जोड दिए।

यसअघि जेलेन्स्कीले रुबियोसँग अमेरिकी पूर्वचेतावनी, मिसाइल प्रतिरोधी प्रणाली र स्पेसएक्सको स्टारलिंक इन्टरनेट नेटवर्कको आवश्यकताबारे ‘रचनात्मक छलफल’ भएको बताएका थिए।

गत साता अमेरिकी सिनेटरहरूको द्विदलीय समूहले युक्रेनमा स्टारलिंक नेटवर्कमा आएको अवरोधबारे तत्काल अनुसन्धान गर्न माग गरेको थियो। यसैबीच, मंगलबार सार्वजनिक भएका अपुष्ट विवरणअनुसार थप ‘प्याट्रियट इन्टरसेप्टर’ मिसाइल पठाउने विषय अझै स्वीकृत भएको छैन।

हाल भारत भ्रमणमा रहेका रुबियोले युक्रेनका लागि प्याट्रियट इन्टरसेप्टर मिसाइल अझै नपुगेको हुन सक्ने स्वीकार गरेका छन्। तर, किएभलाई जानाजानी कुनै सहायता रोकिएको भन्ने आरोप भने उनले अस्वीकार गरेका छन्।

विटकफ प्रत्यक्ष र कुश्नर भर्चुअल रूपमा सहभागी हुने

ओस्लोमा हुने बैठकमा अमेरिकी विशेष दूत विटकफ प्रत्यक्ष सहभागी हुनेछन् भने ट्रम्पका ज्वाइँ जेरेड कुश्नर भिडियो लिङ्कमार्फत जोडिने अपेक्षा गरिएको छ।

बैठकमा फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब, बेलायत, पोल्यान्ड, फ्रान्स र जर्मनीका अधिकारी तथा युरोपेली संघ (ईयू) र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का प्रतिनिधिहरू पनि सहभागी हुनेछन्।

ओस्लो भ्रमणपछि विटकफ रुस जाने वा नजाने भन्ने स्पष्ट भइसकेको छैन। यद्यपि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पका विशेष दूतसँग चाँडै बैठक हुने आशा व्यक्त गरेका छन्।

“हामी अमेरिकी वार्ताकारहरूको मध्यस्थता प्रयासको उच्च मूल्याङ्कन गर्छौँ,” पेस्कोभले भने।

यसै महिनाको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पसँग टेलिफोनमा युद्धबारे छलफल गरेका थिए। त्यसपछि ट्रम्पले रुसले अमेरिका र अन्य बजारमा तत्काल तीन लाख टनभन्दा बढी डिजेल आपूर्ति गर्ने घोषणा गरेका थिए। यससँगै रुसी डिजेल निर्यातमाथिको अमेरिकी प्रतिबन्ध अन्त्य गरिएको थियो।

ट्रम्प र पुटिनबीचको उक्त सहमति मियामीमा युक्रेनी अधिकारीहरूसँग विटकफ र कुश्नरको अघिल्लो बैठक चलिरहेका बेला भएको थियो। त्यसप्रति प्रतिक्रिया दिँदै जेलेन्स्कीले यसलाई “पुटिनका लागि जन्मदिनको शुभकामना उपहार” भनेका थिए।

अमेरिकी नीतिप्रति युरोपेली नेताहरूको चिन्ता

आगामी महिना हुने अमेरिकी मध्यावधि निर्वाचनअघि ट्रम्पले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरेको आक्रमणका कारण इन्धनको मूल्य बढेको आरोप लगाएका छन्। अमेरिका नेतृत्वको इरान युद्ध सुरु भएयता इन्धनको मूल्य उच्च बिन्दुमा पुगेको उनको भनाइ छ।

रुसप्रति अमेरिकी प्रशासनका पछिल्ला अभिव्यक्तिले युरोपेली नेताहरूलाई चिन्तित बनाएको छ। जर्मन चान्सलर फ्रिड्रिख मेर्जले सोमबार युद्धबारे अमेरिकाबाट “मिश्रित चित्र र सन्देशहरू” आइरहेको बताएका थिए। उनले अमेरिकी सरकारलाई समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने विषय बुझाउने प्रयास भइरहेको पनि उल्लेख गरे।

मेर्जका अनुसार सन् २०२५ को सुरुदेखि अमेरिकाले युक्रेनको रक्षाका लागि आर्थिक सहायता उपलब्ध गराएको छैन। त्यसयता युरोप र अन्य देशहरूले सहयोगको भार उठाइरहेका छन्।

“यो हाम्रो बजेटका लागि साँच्चै ठूलो प्रयास हो। युरोपेली संघका लागि पनि यो ठूलो कुरा हो। तर, यो भयानक युद्ध अन्त्य नभएसम्म हामी सहयोग जारी राख्ने प्रयास गर्नेछौँ,” उनले ब्लूमबर्ग टिभीसँग भने।

यसैबीच, युक्रेन अमेरिकाको सहयोगी हो कि होइन भन्ने प्रश्नमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले किएभलाई “केही हदसम्म साझेदार” का रूपमा लिन सकिने बताएका छन्। तर, दुवै देशका हित सधैँ समान नहुने उनको भनाइ छ।

“मलाई लाग्छ, उनीहरूले रुसी ऊर्जामाथि आक्रमण गर्न बन्द गर्नुपर्छ,” भान्सले भने।

उनले युक्रेन र अमेरिकाबीच औपचारिक सैन्य गठबन्धन नरहेको र युक्रेन नेटोको सदस्य नभएको उल्लेख गर्दै भविष्यमा दुवै देशले केही विषयमा सहकार्य गर्ने र केही विषयमा मतभेद कायम रहने बताए।

लिङ्क सफलतापूर्वक कापि गरियो!