महासागरको नाम ‘ट्रम्प ओसन’ राख्ने ट्रम्पको इच्छा, समर्थकले बजाए ताली

महासागरको नाम ‘ट्रम्प ओसन’ राख्ने ट्रम्पको इच्छा, समर्थकले बजाए ताली

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटलान्टिक वा प्रशान्त महासागरको नाम परिवर्तन गरेर ‘ट्रम्प ओसन’ वा ‘ओसन अफ द अमेरिका’ राख्ने सुझाव दिएका छन्। उनको यो अभिव्यक्तिले फेरि एकपटक अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको छ।

शनिबार आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले सन् २०२८ मा आफ्नो कार्यकाल समाप्त हुनुअघि कम्तीमा एउटा महासागर र एउटा ठूलो नदीको नाम परिवर्तन गर्न चाहेको बताएका हुन्। उनको भनाइ सुनेपछि र्‍यालीमा उपस्थित समर्थकहरूले हाँस्दै ताली बजाएका थिए।

सार्वजनिक क्षेत्र तथा रणनीतिक जलमार्गको नाम आफ्नै नाममा राख्ने विषयमा ट्रम्पले अभिव्यक्ति दिएको यो पहिलो पटक भने होइन। यसअघि पनि उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गर्दै रणनीतिक महत्त्वको होर्मुज जलडमरूमध्यको नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्नुपर्ने हो कि भन्दै प्रश्न गरेका थिए।

ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई कतिपयले चुनावी भाषणका क्रममा गरिएको ठट्टाका रूपमा लिएका छन्। अन्यले भने यसलाई अन्तर्राष्ट्रिय जलमार्ग तथा भौगोलिक नामकरणसम्बन्धी स्थापित मान्यताप्रतिको उनको दृष्टिकोणका रूपमा व्याख्या गरेका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!