मन्त्री नै पेस्तोल बोकेर छापामा

मन्त्री नै पेस्तोल बोकेर छापामा

ढाका । बंगलादेशका एक राज्यमन्त्री हातमा पेस्तोल बोकेर लागुऔषधविरुद्धको कारबाहीमा आफैँ सडकमा उत्रिएपछि विवादमा तानिएका छन्।

राजधानी ढाकाको गेन्दारिया क्षेत्रमा राज्यमन्त्री इशराक हुसेन आफ्ना समर्थकसहित पेस्तोल बोकेर बस्तीमा छापा मार्दै हिँडेको भिडियो सार्वजनिक भएपछि उनको चर्को आलोचना भइरहेको छ। शनिबार भएको घटनामा मन्त्री र उनका सहयोगीहरूले लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिनुका साथै त्रिपालका टहराहरू भत्काएका थिए।

मन्त्री हुसेनले उक्त कारबाहीको भिडियो आफ्नै आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेका हुन्। भिडियोमा उनले छ जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको दाबी गरेका छन्।

प्रहरीको आपत्ति

मन्त्रीले पेस्तोल बोकेर आफैँ छापा मारेको भिडियो सार्वजनिक भएपछि सुरक्षा निकाय र सर्वसाधारणले त्यसप्रति आपत्ति जनाएका छन्। छापा मार्ने र कारबाही गर्ने अधिकार कानुन कार्यान्वयन गर्ने निकायको भएको भन्दै उनको कदमको आलोचना भइरहेको छ।

ढाका महानगरीय प्रहरीका उपआयुक्त मलिक अहसान उद्दिन सामीले छापा मार्ने विशेषाधिकार सुरक्षा निकायलाई मात्रै रहेको स्पष्ट पारेका छन्। यद्यपि, बंगलादेशको कानुनअनुसार कुनै नागरिकले अपराधमा संलग्न भएको आशंका गरिएका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउन सक्ने उनले बताए।

प्रहरीका अनुसार मन्त्रीले जानकारी गराएपछि १० जनालाई गेन्दारिया प्रहरी चौकीमा ल्याइएको छ। गेन्दारिया प्रहरी प्रमुख मुनिरुज्जमान मुनिरले पक्राउ परेका व्यक्तिहरूबाट सेतो धुलोजस्तो शंकास्पद पदार्थ बरामद भएको जानकारी दिएका छन्। उक्त पदार्थ लागुऔषध हो वा होइन भन्ने पुष्टि गर्न प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।

आफ्नै पार्टीका कार्यकर्तालाई पनि कारबाही गर्ने चेतावनी

मन्त्री हुसेनले लागुऔषधका कारण देशका युवापुस्ता कुलतमा फसिरहेको भन्दै आफूले विगत छ महिनादेखि यसबारे सूचना संकलन गरिरहेको बताएका छन्। लागुऔषध कारोबारको सञ्जाल तोड्न अभियान सुरु गरेको उनको दाबी छ।

उनले आफ्नै पार्टीका सदस्य लागुऔषध कारोबारमा संलग्न भएको पाइए उनीहरूमाथि पनि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।

'यदि मेरो आफ्नै पार्टीका कोही व्यक्ति लागुऔषध कारोबारमा संलग्न भेटिए भने उनीहरूमाथि झन् कडा कानुनी कारबाही हुनेछ,' उनले भनेका छन्, 'यो अभियान मेरो निर्वाचन क्षेत्रबाट सुरु भएको छ र छिट्टै देशभर फैलिनेछ।'

लागुऔषध नियन्त्रणमा सहयोग गर्ने नागरिकलाई सम्मान गरिने घोषणा पनि उनले गरेका छन्।

सार्वजनिक भिडियोमा नियन्त्रणमा लिइएका व्यक्तिहरूले मन्त्रीसामु हात जोडेर आफूहरूलाई छाडिदिन आग्रह गरेको देखिन्छ। मन्त्रीले भने उनीहरूमाथि कुटपिट नगरिने आश्वासन दिएका छन्।

'तपाईंहरूमाथि कसैले हात हाल्ने छैन। हामी यहाँ कुटपिट गर्न आएका होइनौँ,' उनले भनेका छन्, 'देश कानुनअनुसार चल्छ। तपाईंहरूलाई प्रहरीको जिम्मा लगाइनेछ र अदालतबाट कानुनी प्रक्रिया पूरा गरेर मात्रै सजाय दिइनेछ।'

लिङ्क सफलतापूर्वक कापि गरियो!