जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएको छ। नेकपाका तर्फबाट सरकारमा सहभागी चारै जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग, पर्यटन तथा वनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो रहेका छन्।
मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौंमा रहेकाले मन्त्रीहरूले ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएको एक मन्त्रीले जानकारी दिएका छन्। राजनीतिक निकासका लागि राजीनामा बुझाइएको मन्त्रीहरूले जारी गरेको पत्रमा उल्लेख छ।
पत्रमा भनिएको छ, ‘राजनीतिक निकासका लागि हामी नेपाल कम्युनिस्ट पार्टीका तपसिलका मन्त्रीहरूको सामूहिक राजीनामा पेस गर्दछौँ। यहाँले गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।’
राजीनामासँगै नेकपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ। पार्टीका तर्फबाट प्रदेश प्रमुखसमक्ष समर्थन फिर्ता लिएको सम्बन्धमा पत्रसमेत दर्ता गराइएको छ।