भारतमा मतदाता नामावलीबाट १३ करोडको नाम हटाइएको आरोप, निर्वाचन आयोगविरुद्ध प्रदर्शन

भारतमा मतदाता नामावलीबाट १३ करोडको नाम हटाइएको आरोप, निर्वाचन आयोगविरुद्ध प्रदर्शन

नयाँदिल्ली । भारतमा मतदाता नामावली संशोधनका क्रममा करिब १३ करोड मतदाताको नाम हटाइएको आरोप लगाउँदै निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीस्थित रामलीला मैदानमा विशाल प्रदर्शन भएको छ।

प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी) र विपक्षी गठबन्धन ‘इन्डिया’को आह्वानमा आइतबार आयोजित ‘दिल्ली चलो’ आन्दोलनमा सहभागीहरूले ‘भोट बचाऊ, देश बचाऊ’को नारा लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्।

प्रदर्शनको नेतृत्व गरेका कांग्रेस नेता राहुल गान्धीले मताधिकार खोस्नु लोकतन्त्र र संविधानमाथिको प्रहार भएको बताएका छन्। प्रदर्शनमा विपक्षी गठबन्धनमा आबद्ध १९ भन्दा बढी राजनीतिक दलका नेता, क्षेत्रीय प्रतिनिधि, विद्यार्थी संगठन, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारण सहभागी भएका थिए।

कांग्रेस नेता गुरमीत सपलले एक जना पनि वैध मतदाताको नाम मतदाता सूचीबाट हट्न नदिनु निर्वाचन आयोगको प्रमुख दायित्व भएको बताएका छन्। मताधिकार खोसिएमा सरकारलाई जवाफदेही बनाउन नसकिने उनको भनाइ थियो।

त्यस्तै, प्रदर्शनमा सहभागी अनन्त नामका एक सर्वसाधारणले यो कुनै एउटा राजनीतिक दलको मात्र नभई समग्र लोकतन्त्रको रक्षासँग जोडिएको मुद्दा भएको प्रतिक्रिया दिएका छन्।

त्यसैगरी, ह्युमन राइट्स वाचलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले पनि मतदाता नामावली संशोधन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस प्रक्रियाले सीमान्तकृत समुदायको मताधिकार जोखिममा पारेको छ। ह्युमन राइट्स वाचले १३ करोडभन्दा बढी नाम हटाइएको प्रक्रियामा पारदर्शिता र निष्पक्षताको अभाव रहेको जनाएको छ।

अर्कोतर्फ, सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले भने विपक्षी दलहरूले बिना प्रमाण निर्वाचन आयोगजस्तो संवैधानिक निकायमाथि भ्रम फैलाउन खोजेको आरोप लगाउँदै विरोध प्रदर्शनको आलोचना गरेको छ। निर्वाचन आयोगले पनि मतदाता सूचीबाट दोहोरिएका तथा अयोग्य नाम हटाउने नियमित प्रक्रियाका रूपमा संशोधन गरिएको र गल्तीवश नाम हटाइएका मतदाताले पुनः नाम दर्ता गराउन सक्ने जनाएको छ।

 

लिङ्क सफलतापूर्वक कापि गरियो!