भुटानमा हिमताल विस्फोटपछि भीषण बाढी, चर्चित गासा छाचु तातोपानी परिसर बगायो

भुटानमा हिमताल विस्फोटपछि भीषण बाढी, चर्चित गासा छाचु तातोपानी परिसर बगायो

काठमाडौं । भुटानको उत्तरी गासा जिल्लास्थित लाया गेओगमा वाकिला हिमाल नजिक रहेको सिन्ताफु हिमतालमा बिहीबार (अक्टोबर २९) साँझ हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएको छ। हिमताल विस्फोटपछि आएको भीषण बाढीले नदी किनारका संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

‘डेली भुटान’ ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध (मोरेन) कमजोर भएपछि एक्कासि बाहिर निस्किएको थियो। बाढीले मोछु नदी किनारमा रहेको चर्चित ‘गासा छाचु’ तातोपानी परिसर पूर्ण रूपमा बगाएको छ।

बाढीका कारण पुनाखा–गासा सेकेन्डरी नेसनल हाइवेअन्तर्गत ३१.८५ किलोमिटर नजिकको सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै, दुर्गम पहाडी बस्ती लायालाई जोड्ने सडकमा समेत क्षति पुगेपछि अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको छ।

अधिकारीहरूले यात्रुहरूलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न वा वैकल्पिक मार्गको व्यवस्था गरेर मात्र आवतजावत गर्न आग्रह गरेका छन्। बिहीबार राति करिब ८:१५ बजे बाढीको पानी तक्त्सेमाखाङ पुगेको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै चेतावनी साइरन बजाएर जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।

अक्टोबर ३० को बिहानसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जनाइएको छ। बाढीबाट भएको भौतिक क्षतिको विस्तृत मूल्याङ्कन भने भइरहेको छ।

सिन्ताफु हिमताल मोछु नदीको मुहान क्षेत्रमा अवस्थित उच्च हिमाली ताल हो। मोछु र फोछु नदी एकआपसमा मिसिएर पुनात्साङछु नदी बन्छन्। यो नदी भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा चिनिन्छ।

भुटानको आधिकारिक सूचीमा सम्भावित जोखिमयुक्त १७ हिमतालमध्ये सिन्ताफु पनि एक हो। यस तालको जोखिम अवस्थाबारे भुटानी विज्ञहरूले सन् २०२३ को मेदेखि जुनसम्म विशेष अध्ययन गरेका थिए। अध्ययनका क्रममा तालको आकार, आसपासको भौगोलिक अवस्था, प्राकृतिक बाँधको अवस्था र पानीको स्रोतका रूपमा रहेको हिमनदीको निरन्तर अनुगमन गरिएको थियो। साथै, निगरानीका उपकरणसमेत जडान गरिएको थियो।

यसैबीच, सिन्ताफु हिमताल विस्फोटको खबरपछि छिमेकी भारतमा पनि सतर्कता अपनाइएको छ। भारतको केन्द्रीय जल आयोगले पश्चिम बंगाल र आसामका लागि विशेष बाढी चेतावनी जारी गर्दै अलिपुरद्वार र धुब्री जिल्लामा संकोश नदी तथा यसका सहायक नदीहरूको जलस्तर अचानक बढ्न सक्ने जनाएको छ।

दुवै राज्यका स्थानीय प्रशासनलाई नदीको जलस्तर र बहावमा नजिकबाट निगरानी राख्न तथा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!