बेलायतमा ‘बी रेडी’ अभियान सुरु, नागरिकलाई तीन दिन पुग्ने अत्यावश्यक सामग्री जोहो गर्न आग्रह

बेलायतमा ‘बी रेडी’ अभियान सुरु, नागरिकलाई तीन दिन पुग्ने अत्यावश्यक सामग्री जोहो गर्न आग्रह

काठमाडौं । ‘अस्टिन’ आँधीका कारण जनजीवन प्रभावित भएपछि बेलायत सरकारले नागरिकलाई आपत्कालीन अवस्थाका लागि तयार रहन आह्वान गर्दै ‘बी रेडी’ नामक विशेष अभियान सुरु गरेको छ।

सरकारले सम्भावित सङ्कटको सामना गर्न घरमा कम्तीमा तीन दिनसम्म पुग्ने अत्यावश्यक सामग्री सञ्चित गरेर राख्न नागरिकहरूलाई सुझाव दिएको छ। आपत्कालीन अवस्थामा राहत तथा उद्धार टोली आइपुग्न समय लाग्न सक्ने भएकाले आवश्यक सामग्रीको व्यवस्था आफैँ गर्न सरकारले आग्रह गरेको हो।

सरकारले नागरिकहरूलाई पिउने पानी, खाद्य पदार्थ, औषधि, टर्चलाइट, अतिरिक्त ब्याट्री तथा अन्य अत्यावश्यक वस्तुहरू जोहो गर्न भनेको छ। साथै, घरमा पहिलेदेखि उपलब्ध सामग्रीको जाँच गरी आवश्यकताअनुसार थप सामान जुटाउन र आपत्कालीन किट तयार गर्न पनि सुझाव दिएको छ।

आपत्कालीन किटमा नियमित सेवन गर्ने औषधि, प्राथमिक उपचार सामग्री, बालबालिकाका लागि दूध र डायपर तथा घरपालुवा जनावरका लागि खाना राख्न भनिएको छ। त्यस्तै, कम्तीमा तीन दिनका लागि पुग्ने पिउने पानीका साथै खाना पकाउन र सरसफाइ गर्न आवश्यक अतिरिक्त पानीको व्यवस्था गर्न पनि सरकारले आग्रह गरेको छ।

सरकारले चाँडै नबिग्रिने र फ्रिजमा राख्न वा पकाउन नपर्ने खाद्य सामग्री सञ्चित गर्न सुझाव दिएको छ। यसका अतिरिक्त टर्चलाइट, अतिरिक्त ब्याट्री, कम्बल, स्लिपिङ ब्याग, न्यानो कपडा तथा ब्याट्रीबाट चल्ने रेडियो वा चार्ज गरिएको पावर बैंक राख्न पनि भनिएको छ।

आपत्कालीन अवस्थामा आवश्यक पर्न सक्ने परिचयपत्र, फोन नम्बर र अन्य महत्त्वपूर्ण कागजातका प्रतिलिपि तयार पारेर सुरक्षित राख्नसमेत सरकारले नागरिकहरूलाई सुझाव दिएको छ।

यसैगरी, सरकारले छिमेकीहरूसँग सम्पर्कमा रहन र सङ्कटका बेला एकअर्कालाई सहयोग गर्न अपिल गरेको छ। अतिरिक्त अत्यावश्यक सामग्री उपलब्ध भएका व्यक्तिहरूलाई विपद्मा परेका वा सहयोगको आवश्यकता भएका मानिसहरूलाई ती सामग्री उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!