बेलायतको समुद्री तटमा भेटियो अत्यन्तै विषालु पफरफिस, नछुन चेतावनी

बेलायतको समुद्री तटमा भेटियो अत्यन्तै विषालु पफरफिस, नछुन चेतावनी

काठमाडौं । बेलायतको एक प्रसिद्ध समुद्री तटमा अत्यन्तै विषालु पफरफिस भेटिएपछि स्थानीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। समुद्र किनारमा मृत अवस्थामा भेटिएको यो माछामा साइनाइडभन्दा करिब एक हजार गुणा शक्तिशाली विष हुन सक्ने भएकाले यसलाई नछुन चेतावनी दिइएको हो।

‘द सन’ को रिपोर्टअनुसार बेलायतको डोर्सेटस्थित स्टडल्याण्डको नोल बीचमा करिब १७ इन्च लामो अनौठो वस्तु भेटिएको थियो। समुद्र किनारमा घुमिरहेका ओभेन बुटीले सुरुमा उक्त वस्तुलाई समुद्रमा प्रयोग हुने कुनै उपकरण वा प्लास्टिकको झोला ठानेका थिए।

तर नजिक गएर हेर्दा त्यो बेलुनजस्तै फुलेको अवस्थामा रहेको मरेको माछा थियो। विदेशमा डाइभिङ गर्ने क्रममा पफरफिस देखिसकेका बुटीले उक्त माछा त्यही प्रजातिको हुन सक्ने अनुमान गरे। पुष्टि गर्न उनले तस्बिरहरू डोर्सेट वाइल्डलाइफ ट्रस्ट र समुद्री जीवसम्बन्धी विशेषज्ञलाई पठाएका थिए। जाँचपछि उक्त माछा पफरफिस भएको पुष्टि भयो।

पफरफिसको शरीरमा टेट्रोडोटक्सिन नामक शक्तिशाली विष हुन्छ। यो न्युरोटक्सिनले स्नायु प्रणालीमा असर पार्छ। यसको प्रभावले मांसपेशीले काम गर्न छाड्न सक्छ भने गम्भीर अवस्थामा श्वासप्रश्वासमा समस्या भएर ज्यानसमेत जान सक्छ।

विशेषगरी यसको कलेजो, डिम्बाशय, आन्द्रा र छालामा विष हुन सक्छ। माछा मरेपछि पनि शरीरमा रहेको विष नष्ट हुँदैन। त्यसैले यसलाई छुनु वा खानु जोखिमपूर्ण हुन्छ। राम्रोसँग सफा नगरिए विष खानयोग्य मासुमा समेत पुग्न सक्छ। यही कारण धेरै देशमा पफरफिस खान विशेष तालिम र कडा नियम पालना गर्नुपर्ने व्यवस्था छ।

पफरफिस सामान्यतया हिन्द महासागर, प्रशान्त महासागर र एटलान्टिक महासागरका न्यानो पानी भएका क्षेत्रमा पाइन्छ। बेलायतको चिसो समुद्री तटमा यसको उपस्थिति निकै असामान्य मानिएको छ।

हालै आएका ‘अस्टेन’ र ‘बोआलो’ नामका आँधीका कारण यो माछा आफ्नो सामान्य बासस्थानबाट सयौँ माइल टाढा बगेर आएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, बेलायतको तटमा आइपुग्नुको वास्तविक कारण भने पुष्टि भएको छैन।

खतरा महसुस गर्दा शरीरमा पानी वा हावा भरेर बेलुनजस्तै फुल्ने भएकाले यसलाई पफरफिस भनिन्छ। शरीर फुलाएपछि यसको आकार ठूलो र गोलो हुन्छ, जसले सिकारीलाई निल्न कठिन बनाउँछ।

डोर्सेट वाइल्डलाइफ ट्रस्टका प्रवक्ताले बेलायतको समुद्री क्षेत्रमा पफरफिस देखिनु दुर्लभ घटना भएको बताएका छन्। संस्थाले समुद्र किनारमा यस्तो माछा भेटिए नछुन र सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरेको छ।

यता, स्टडल्याण्ड बीचको स्वामित्व रहेको नेशनल ट्रस्टले भने माछा भेटिएको आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।

समुद्र किनारमा सानो र अनौठो देखिने यस्तो माछा पनि घातक हुन सक्ने भएकाले उत्सुकतावश नजिक जाने वा छुने गल्ती नगर्न विशेषज्ञहरूले सुझाव दिएका छन्।

 
 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!