बम र विमान अपहरणको धम्कीपछि एयर इन्डियाको जहाज जयपुरमा डाइभर्ट

बम र विमान अपहरणको धम्कीपछि एयर इन्डियाको जहाज जयपुरमा डाइभर्ट

काठमाडौं। जर्मनीको फ्र्याङ्कफर्टबाट भारतको नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको यात्रुवाहक विमानमा बम विस्फोट गराउने र अपहरण गर्ने धम्की आएपछि जहाजलाई जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ।

समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार एयर इन्डियाको उडान नम्बर एआई २०३० लाई सुरक्षा खतराको सूचना प्राप्त भएपछि जयपुर विमानस्थलमा सुरक्षित रूपमा आपत्कालीन अवतरण गराइएको हो।

अवतरणपछि विमानलाई मुख्य रनवे र टर्मिनल क्षेत्रबाट टाढा रहेको आइसोलेसन बेमा लगिएको थियो।

भारतीय सुरक्षा निकाय, बम निष्क्रिय पार्ने टोली तथा नागरिक उड्डयन सुरक्षा अधिकारीहरूले विमान, यात्रु र उनीहरूको सामानको सुरक्षा जाँच गरिरहेका छन्।

धम्की कहाँबाट र कसरी आएको हो भन्नेबारे सुरक्षा निकायले विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ।

पछिल्लो समय नागरिक उड्डयन क्षेत्रमा आउने गरेका शङ्कास्पद धम्कीका घटनालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!