काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले ६.३ अर्ब अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको ठूलो साइबर हमलापछि करिब आधा रकम रोक्का गर्न सफल भएको जनाएको छ।
बाइनान्सका अनुसार चोरी भएको रकममध्ये करिब ३ अर्ब डलर सुरक्षित गरिएको छ भने बाँकी रकम अझै अज्ञात ह्याकरहरूको नियन्त्रणमा रहेको छ। यसलाई क्रिप्टोकरेन्सी क्षेत्रकै सबैभन्दा ठूलो चोरीका घटनामध्ये एक मानिएको छ।
सुरुमा बाइनान्सले आफ्ना एक इन्जिनियरको ल्यापटपमा अनधिकृत पहुँच पुर्याएर रकम चोरी गरिएको अनुमान गरेको थियो। तर, पछिल्लो अनुसन्धानमा साइबर हमला प्रारम्भिक अनुमानभन्दा निकै व्यापक र जटिल रहेको खुलेको कम्पनीले जनाएको छ।
सन् २०२५ मा अर्को क्रिप्टो एक्सचेन्ज बाइबिटमा भएको १.५ अर्ब डलर बराबरको चोरीलाई समेत उछिनेको यस घटनामा उत्तर कोरियाली ह्याकिङ समूहको संलग्नता रहेको विभिन्न साइबर सुरक्षा विश्लेषक संस्थाहरूले दाबी गरेका छन्।
यस घटनापछि अमेरिकी सिक्रेट सर्भिसले चोरी भएको रकमको पहिचान, ट्र्याकिङ, रोक्का तथा असुलीका लागि चौबीसै घण्टा काम गरिरहेको जनाएको छ। अमेरिकी अधिकारीहरूले साइबर अपराधमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन्। बाइनान्सले पनि यस विषयमा एफबीआईसँग सहकार्य गरिरहेको जनाएको छ।
बाइनान्सले अमेरिकामा सञ्चालित आफ्नो सेवा बाइनान्स डट यूएसमा यस घटनाको असर नपरेको स्पष्ट पारेको छ। यद्यपि, चोरी भएको सम्पत्तिमा अमेरिकी डलरसँग जोडिएका टेथर र सर्कलजस्ता डिजिटल मुद्रा पनि रहेकाले यसको अनुसन्धानमा अमेरिकी निकायहरूको चासो बढेको छ।
कम्पनीले आफ्ना प्रयोगकर्तालाई उनीहरूको रकम सुरक्षित रहेको र चोरीबाट भएको सम्पूर्ण नोक्सानीको क्षतिपूर्ति दिने प्रतिबद्धता व्यक्त गरेको छ। सुरुमा निक्षेप तथा रकम झिक्ने सेवा स्थगित गरेको बाइनान्सले पछि निक्षेप सेवा प्रभावित नभएको जानकारी दिएको थियो।
बाइनान्सका सह-प्रमुख कार्यकारी अधिकृत रिचर्ड टेङले यो हमला कुनै एक व्यक्तिले मात्र गरेको घटना नभएको बताएका छन्।
उनका अनुसार प्रारम्भिक अनुसन्धानले इन्जिनियरको ल्यापटपबाट सुरक्षा कमजोरी सुरु भएको सङ्केत गरे पनि पछिल्लो अनुसन्धानमा अन्य धेरै कमजोरीका बिन्दुहरू फेला परेका छन्।
टेङले ह्याकरहरूले आफूले प्रयोग गरेका औजार तथा डिजिटल प्रमाणहरू स्वतः नष्ट हुने प्रविधि प्रयोग गरेकाले अनुसन्धान र रकम ट्र्याकिङ थप जटिल बनेको बताए।
कम्पनीले अर्को अध्यावधिक सूचनामार्फत चोरी भएको सम्पत्तिको क्षतिपूर्ति व्यवस्थापनका लागि आफ्नो कोषबाट ६.३४ अर्ब डलरभन्दा बढी रकम छुट्याएको र विभिन्न क्रिप्टो टोकन सक्रिय रूपमा खरिद गरिरहेको जनाएको छ।
यस विशाल साइबर हमलापछि शुक्रबार क्रिप्टोकरेन्सी बजारमा समेत ठूलो प्रभाव परेको थियो। न्यूयोर्कको कारोबारमा बिटक्वाइनको मूल्य ५ प्रतिशतले घटेर प्रतिगोटा ७६ हजार ८०० डलरमा झरेको थियो।
त्यस्तै, अर्को क्रिप्टो एक्सचेन्ज कोइनबेसको सेयर मूल्य १२ प्रतिशतले घटेको थियो भने क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित वित्तीय सेवा कम्पनी रोबिनहुडको सेयर मूल्य ७.८ प्रतिशतले ओरालो लागेको थियो।
सन् २०१७ मा चीनबाट सुरु भएको बाइनान्स विश्वभर ३० करोडभन्दा बढी दर्ता भएका प्रयोगकर्ता रहेको प्रमुख डिजिटल सम्पत्ति कारोबार मञ्च हो। सन् २०२४ सम्ममा कम्पनीको संरक्षणमा १६० अर्ब डलरभन्दा बढीको डिजिटल सम्पत्ति रहेको थियो।
यद्यपि, यति ठूलो आर्थिक क्षति कम्पनीले वास्तवमै पूर्ति गर्न सक्छ कि सक्दैन भन्ने विषयले प्रयोगकर्ता र समग्र क्रिप्टो बजारमा चिन्ता बढाएको छ। कम्पनीले भने ग्राहकको सम्पत्ति सुरक्षित रहेको र सङ्कट व्यवस्थापन गर्न आफू सक्षम रहेको दोहोर्याउँदै आएको छ।
तर, क्रिप्टो बजारका केही विश्लेषकहरूले सन् २०२२ मा एफटीएक्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत साम बैंकम्यान-फ्राइडले आफ्नो एक्सचेन्ज धराशायी हुनुअघि ग्राहकलाई यस्तै आश्वासन दिएको घटनाको स्मरण गराएका छन्। त्यसबेला एक्सचेन्ज बन्द भएपछि ग्राहकहरूले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको थियो।
केही कानुनी विज्ञहरूले बाइनान्सले क्षतिपूर्तिको प्रतिबद्धता जनाए पनि त्यसलाई स्वतः कानुनी रूपमा बाध्यकारी मान्न नसकिने बताएका छन्। क्षतिपूर्ति प्राप्त गर्न ग्राहकहरूले कानुनी प्रक्रिया अपनाउनुपर्ने अवस्था आउन सक्ने उनीहरूको भनाइ छ।
लन्डनस्थित एड्विन को ल फर्मका ड्यानियल टङ्केलका अनुसार क्षतिपूर्तिको विषय ग्राहकसँग भएको सम्झौता र बाइनान्सविरुद्ध कुन क्षेत्राधिकारमा मुद्दा चलाउन सकिन्छ भन्ने कुरामा निर्भर हुनेछ।
यसैबीच, एआईमा आधारित साइबर अनुसन्धान संस्था टीआरएम ल्याब्सले यस हमलाका विभिन्न शैली उत्तर कोरियासँग जोडिएका यसअघिका साइबर आक्रमण, विशेषगरी बाइबिट ह्याकिङसँग मिल्दोजुल्दो रहेको जनाएको छ।
पछिल्ला पाँच वर्षमा क्रिप्टोकरेन्सी उद्योगले साइबर हमलाका कारण ठूलो आर्थिक क्षति बेहोर्दै आएको छ। यस्ता घटनामा अनुसन्धानकर्ताहरूले विशेषगरी उत्तर कोरियाली ह्याकिङ समूह 'लाजरस ग्रुप' र 'ट्रेडरट्रेटर' लाई जिम्मेवार ठहर्याउँदै आएका छन्।
क्रिप्टो विश्लेषक संस्था चेनालाइसिसले पनि यस घटनामा उत्तर कोरियाको संलग्नता रहेकोमा उच्च विश्वास व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण आर्थिक दबाबमा रहेको उत्तर कोरियाले आफ्नो अर्थतन्त्रका लागि स्रोत जुटाउन साइबर अपराधलाई माध्यम बनाउने गरेको विज्ञहरूको दाबी छ।
यद्यपि, उत्तर कोरियाले यस्ता आरोपहरूको निरन्तर खण्डन गर्दै आएको छ। क्रिप्टोकरेन्सी कारोबारको प्रवाहसम्बन्धी अनुसन्धान र उत्तर कोरियाबाट बाहिरिएका व्यक्तिहरूका अन्तर्वार्तालाई आधार बनाउँदै अनुसन्धानकर्ताहरूले त्यहाँका राज्यसमर्थित समूहहरू साइबर चोरीमा संलग्न रहेको दाबी गर्दै आएका छन्।