फ्रान्समा सरकारविरोधी प्रदर्शन चर्कियो, करिब एक हजार पक्राउ

पेरिस । फ्रान्समा बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध शनिबार देशव्यापी प्रदर्शन भएपछि विभिन्न सहरमा झडप भएका छन् । प्रदर्शनका क्रममा करिब एक हजार मानिस पक्राउ परेको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ ।

दिनभर शान्तिपूर्ण रहेको प्रदर्शन साँझ पर्दै जाँदा राजधानी पेरिससहित मार्सेई, लियोँ र बोर्डोमा हिंसात्मक बनेको थियो । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । केही स्थानमा सडक अवरुद्ध गर्नुका साथै आगजनीसमेत गरिएको थियो ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख १० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए । तर मजदुर सङ्गठनहरूले सहभागीको सङ्ख्या करिब आठ लाख रहेको दाबी गरेका छन् । राजधानी पेरिसको दक्षिणपूर्वी क्षेत्रमा आयोजित मुख्य प्रदर्शनमा मात्रै कम्तीमा एक लाख १० हजार मानिस सहभागी भएको बताइएको छ ।

प्रदर्शनका क्रममा हिंसा फैलिन नदिन सरकारले देशभर ७० हजार प्रहरी र जन्डार्म परिचालन गरेको थियो । यो सङ्ख्या गत साताको तुलनामा १० हजार बढी हो । गत अक्टोबर १७ मा भएको प्रदर्शनपछि व्यापक लुटपाट, तोडफोड र आगजनी हुँदा दुई हजार पाँच सयभन्दा बढी मानिस पक्राउ परेका थिए ।

पेरिसमा पोर्त द’इटालीदेखि पोर्त द भिन्सेन्नेससम्म निकालिएको जुलुसको अन्त्यमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । केही प्रदर्शनकारीले अस्थायी अवरोध खडा गर्नुका साथै सुरक्षाकर्मीमाथि वस्तु प्रहार गरेका थिए । कार बिक्री केन्द्रका सिसा फुटाउन खोज्ने मुख छोपेका युवाहरूलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो ।

मार्सेईमा प्रदर्शनकारीले फोहोर फाल्ने डब्बामा आगो लगाउनुका साथै धातुका पाता प्रयोग गरेर सडक अवरुद्ध गरेका थिए । बोर्डोमा पनि सडक अवरुद्ध गर्न भवनमा राखिएका काठका फल्याक निकालिएको थियो । लियोँमा निषेधित क्षेत्रमा भेला भएका प्रदर्शनकारीलाई हटाउन प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो ।

गृहमन्त्री लरेन नुनेजले जुलुसको पछिल्लो भागमा भेला भएका केही अतिवादी समूहले हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् । उनका अनुसार झडपमा दुई जना गम्भीर घाइते भएका छन् । तुलुज र क्लेरमोन–फेराँमा एक–एक जना घाइते भएका हुन् ।

आर्थिक असन्तुष्टिले चर्कियो आन्दोलन

प्रदर्शनकारीहरूले बढ्दो जीवनयापन खर्च, करको भार, आर्थिक असमानता र विद्यालयको कमजोर अवस्थाप्रति असन्तुष्टि जनाएका छन् । गत महिना पेरिसका उपनगरमा विद्यालयको अवस्थाविरुद्ध विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन विस्तार हुँदै सरकारको आर्थिक नीतिविरुद्धको आन्दोलनमा परिणत भएको थियो ।

पेरिसमा प्रदर्शनमा सहभागी २६ वर्षीया जेलिले राष्ट्रपति इमानुएल म्याक्रों सत्तामा आएयता नागरिकहरूले धेरै कठिनाइ भोग्नुपरेको बताइन् । मुख छोपेका किशोर प्रदर्शनकारीहरूले पनि आफ्नो पुस्ताले सरकारबाट उपेक्षित महसुस गरेको बताएका छन् । उनीहरूमध्ये एकले लुटपाट गलत भए पनि गरिबी र प्रहरीको बल प्रयोगले असन्तुष्टि बढाएको बताए ।

गत साताको घटनामा फ्रान्सभर दुई हजारभन्दा बढी पसल तथा व्यवसाय प्रत्यक्ष प्रभावित भएका थिए । वाणिज्य तथा उद्योग सङ्घका अनुसार क्षति सयौँ मिलियन युरो बराबर पुगेको अनुमान छ । ती घटनामा करिब एक हजार प्रहरी घाइते भएका थिए ।

फ्रान्सबाहिर पनि आन्दोलनको प्रभाव देखिएको छ । बेल्जियमको राजधानी ब्रसेल्समा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो भने अल्बानियाको राजधानी तिरानामा प्रहरीले सरकारविरोधी प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो । इटालीको मिलानमा भने ठूलो सङ्ख्यामा प्रहरी र सैनिक परिचालन गरिएको थियो ।

आगामी राष्ट्रपतीय निर्वाचनभन्दा करिब छ महिनाअघि चर्किएको आन्दोलनले फ्रान्समा राजनीतिक दबाबसमेत बढाएको छ । वामपन्थी नेता जाँ–लुक मेलाँसोंले सरकारले सामाजिक असन्तुष्टि सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने बताएका छन् । राष्ट्रपति म्याक्रोंको सरकारले भने हिंसा र लुटपाट रोक्न सुरक्षा व्यवस्था थप कडा बनाएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!