फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, देशभर ४०० भन्दा बढी पक्राउ

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, देशभर ४०० भन्दा बढी पक्राउ

एजेन्सी । शिक्षाको गुणस्तर खस्किएको, विद्यालयको अवस्था दयनीय बनेको र महँगी बढेको विरोधमा फ्रान्समा विद्यार्थी नेतृत्वको प्रदर्शन चर्किएको छ। राजधानी पेरिससहित देशका विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा आगजनी तथा तोडफोडका घटना भएका छन्।

शनिबार भएको प्रदर्शनका क्रममा देशभरबाट ४०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। प्रदर्शनमा अधिकांश युवा सहभागी छन्। लियोन सहरस्थित एक पर्यटन कार्यालयमा आगजनी गरिएको छ भने लिल र मार्सेलीमा नगरपालिका भवनहरूमा तोडफोड भएको छ।

प्रदर्शनका क्रममा भएको हिंसालाई लिएर अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आप्रवासन नीतिलाई दोष दिएका छन्। शिक्षा क्षेत्रमा बजेट कटौती र विद्यालयहरूको दयनीय अवस्थाको विरोधमा प्रदर्शन भइरहेका बेला उनले फ्रान्समा देखिएको अशान्तिको कारण आप्रवासन र सांस्कृतिक समायोजनसम्बन्धी नीतिलाई औँल्याएका हुन्।

भान्सले सामाजिक सञ्जालमार्फत पश्चिमा उदारवादीहरूले विविधता र करुणाको नाममा तेस्रो विश्वका मानिसलाई फ्रान्सलगायतका देशमा भित्र्याउँदा समायोजन तथा सांस्कृतिक अनुकूलतासम्बन्धी आधारभूत प्रश्नलाई बेवास्ता गरेको टिप्पणी गरेका छन्। उनले फ्रान्समा देखिएको अवस्थाबाट अमेरिकाले पनि पाठ सिक्नुपर्ने बताएका छन्।

यसैबीच, फ्रान्सेली सञ्चारमाध्यमका अनुसार सन् २०१८ मा इन्धनको मूल्यवृद्धि र आर्थिक असमानताविरुद्ध सुरु भएको ‘येलो भेस्ट’ आन्दोलनका पूर्वअगुवाहरू पनि विद्यार्थीहरूको समर्थनमा प्रदर्शनमा सहभागी हुने तयारीमा छन्।

त्यसबेला हजारौँ मानिस सडकमा उत्रिएका थिए। आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा २ हजार ५०० भन्दा बढी प्रदर्शनकारी र १ हजार ८०० प्रहरी कर्मचारी घाइते भएका थिए।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले फ्रान्स २४ सँग कुरा गर्दै क्रयशक्ति घटेको विरोधमा भएका प्रदर्शनमा ५ लाख ५० हजार मानिस सहभागी भएको बताएका छन्। उनका अनुसार पेरिसमा मात्रै १ लाख १० हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए। तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ४०० प्रदर्शनकारीलाई पक्राउ गरेको उनले जानकारी दिएका छन्।

फ्रान्स २४ का अनुसार इन्धनको मूल्यवृद्धिविरुद्ध देशभर प्रदर्शन गर्ने योजना बनाइएको छ, जसलाई वामपन्थी समूहहरूले समर्थन गरेका छन्। यद्यपि, ‘येलो भेस्ट’ आन्दोलनका केही कार्यकर्ताले पछिल्लो प्रदर्शनमा आफ्नो संलग्नता रहेको भन्ने दाबी अस्वीकार गरेका छन्।

अभियन्ता रोड्रिगेजले अक्टोबर १७ का प्रदर्शनमा ‘येलो भेस्ट’ आन्दोलनका सदस्यहरूको प्रत्यक्ष संलग्नता नरहेको बताउँदै यो नाम असन्तुष्टिका हरेक घटनासँग जोडिने गरेको टिप्पणी गरेका छन्। अर्की अभियन्ता सोफी टिसियरले भने सन् २०१८ को आन्दोलन र अहिलेको प्रदर्शनबीच समानता रहेको बताएकी छन्।

उनका अनुसार फ्रान्सेली जनता लामो समयदेखि विभिन्न समस्याबाट थकित छन् र अहिलेको विरोध जायज छ। रोड्रिगेजले पनि सन् २०१८ को आन्दोलनबाट उठेका माग पूरा हुन नसकेको असन्तुष्टि अझै कायम रहेको बताएकी छन्।

यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाको निन्दा गरेका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले सरकारी कार्यालयमा तोडफोड, व्यवसायमा क्षति, लुटपाट तथा सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्नेहरूमाथि कानुनी कारबाही गरिने बताएका छन्।

म्याक्रोंले गणतन्त्रमा हिंसाका लागि कुनै ठाउँ नभएको उल्लेख गर्दै अराजकता फैलाउनेहरूविरुद्ध एकजुट हुन आह्वान गरेका छन्। उनले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको रक्षा गर्ने सुरक्षाकर्मीप्रति समर्थनसमेत व्यक्त गरेका छन्।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पनि बढ्दो अशान्तिको निन्दा गरेका छन्। उनले शान्तिपूर्ण प्रदर्शन गर्नु नागरिकको वैध अधिकार भए पनि आगजनी, लुटपाट र सार्वजनिक तथा निजी सम्पत्तिमाथिको आक्रमण स्वीकार्य नहुने बताएका छन्।

फ्रान्स २४ का अनुसार प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको हात गुमेको छ भने विभिन्न स्थानमा आगजनी र दर्जनौँ खुद्रा पसलमा लुटपाट भएको छ।

पछिल्ला केही सातादेखि जारी विद्यार्थी नेतृत्वको प्रदर्शनले फ्रान्सको राजनीतिक संकटलाई थप गहिरो बनाएको छ। आगामी निर्वाचन नजिकिँदै गर्दा शिक्षा, महँगी, क्रयशक्ति र सरकारी नीतिप्रति बढ्दो असन्तुष्टि फ्रान्सेली राजनीतिको प्रमुख चुनौतीका रूपमा देखिएको छ।

(एएनआई)

लिङ्क सफलतापूर्वक कापि गरियो!