पेरिस। फ्रान्समा शनिबार भएको विशाल विरोध प्रदर्शन हिंसात्मक दङ्गा र लुटपाटमा परिणत भएपछि राष्ट्रपति एमानुएल म्याक्रोनले शान्ति र व्यवस्था कायम गर्न आह्वान गरेका छन्। आइतबार पनि राजधानी पेरिसका केही क्षेत्रमा तोडफोड र उपद्रव जारी रहेपछि उनले हिंसामा संलग्नहरूलाई संयम अपनाउन चेतावनी दिएका हुन्।
एलिसी प्यालेसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै म्याक्रोनले आफूहरू आक्रोशित र लज्जित भएको बताए। उनले प्रदर्शनकारीका जायज माग र तोडफोड, विनाश तथा लुटपाटमा संलग्न व्यक्तिबीच स्पष्ट भिन्नता छुट्याउनुपर्नेमा जोड दिए।
इन्धनको बढ्दो मूल्य, जीवनयापनको महँगो खर्च तथा विद्यालयलगायत सार्वजनिक सेवाको खस्कँदो अवस्थाको विरोधमा करिब पाँच लाख ५० हजार मानिस सडकमा उत्रिएका थिए। सुरुमा शान्तिपूर्ण रहेको प्रदर्शन पछि हिंसात्मक बनेको थियो।
फ्रान्सको गृह मन्त्रालयका अनुसार प्रहरीले करिब दुई हजार चार सय जनालाई पक्राउ गरेको छ। म्याक्रोनले हिंसालाई कुनै पनि बहानामा उचित ठहराउन नसकिने बताउँदै संलग्नहरूले कानुनअनुसार कारबाहीको सामना गर्नुपर्ने उल्लेख गरे।
कालो पोसाक र मास्क लगाएका दङ्गाकारी समूहले पेरिस, मार्सेली तथा अन्य सहरमा सवारीसाधन र भवनमा आगजनी गरेका थिए।
ऐतिहासिक टाउन हलमा आगजनी भएपछि स्थानीय स्तब्ध
आइतबार पनि पेरिसका केही भाग र लियोनका साना क्षेत्रमा लुटपाट तथा प्रहरीसँग झडप जारी रहेको थियो। एएफपीका अनुसार पेरिसमा प्रदर्शनकारीमाथि अश्रुग्यास र स्टन ग्रेनेड प्रहार गरिएको थियो भने प्रहरीमाथि बोतल र ढुङ्गा प्रहार गरिएको थियो।
लिमोज सहरमा १९औँ शताब्दीमा निर्मित ऐतिहासिक टाउन हलमा शनिबार दङ्गाकारीले आगो लगाएपछि भवनमा ठूलो क्षति पुगेको छ। आगलागीका कारण भवनको घडीसहितको स्तम्भ र छत ढलेका छन्।
ध्वस्त भवननजिकै बोल्दै आनेस नामकी स्थानीय बासिन्दाले ऐतिहासिक सम्पदामा क्षति पुर्याइनु दुःखद भएको बताइन्। सरकारप्रतिको आक्रोशका कारण ऐतिहासिक धरोहर नष्ट गर्नु स्वार्थी व्यवहार भएको उनको भनाइ थियो।
त्यस्तै, जेरार्ड नामका अर्का स्थानीयले घटनाप्रति दुःख व्यक्त गर्दै भवनलाई पुरानै अवस्थामा फर्काउन लामो समय लाग्ने बताए।
पेरिसका मुख्य सडकमा फोहोर सङ्कलन गर्ने गाडीले भग्नावशेष हटाइरहँदा व्यापारीहरू फुटेका सिसा सफा गर्न व्यस्त देखिएका थिए। पेरिस, मार्सेली र लिललगायत सहरमा व्यापक लुटपाट भएको विवरण सार्वजनिक भएको छ।
म्याक्रोनले पसल तथा सार्वजनिक भवनको सुरक्षा गर्न स्थानीय प्रशासन र मेयरहरूलाई आवश्यक उपाय अपनाउन निर्देशन दिएका छन्। प्रदर्शनका क्रममा प्रहरीले गरेको कारबाहीबारे पूर्ण पारदर्शिता कायम गरिने पनि उनले बताएका छन्।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास र वाटर क्यानन प्रयोग गरेका थिए। कतिपय स्थानमा दङ्गा नियन्त्रण प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। फ्रान्सको गृह मन्त्रालयले शनिबार करिब एक हजार प्रहरी अधिकारी घाइते भएको र तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको जनाएको छ।
राजनीतिक दलबीच आरोप–प्रत्यारोप
गत महिना सुरु भएको विद्यार्थी आन्दोलनमा ट्रेड युनियनका सदस्य तथा अन्य सरकारविरोधी समूहसमेत सहभागी भएपछि शनिबारको प्रदर्शन थप उग्र बनेको थियो।
आगामी अप्रिलमा हुने चुनावको तयारीमा रहेको फ्रान्समा घटनालाई लिएर राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप सुरु भएको छ। यसले देशमा विद्यमान राजनीतिक विभाजन थप स्पष्ट पारेको छ।
गृहमन्त्री लरेन्ट नुनेजले प्रदर्शन गर्नु नागरिकको मौलिक अधिकार भए पनि सार्वजनिक भवनमा आक्रमण गर्ने र प्रहरीसँग भिड्ने हजारौँ अति-वामपन्थी व्यक्तिले आपराधिक गतिविधि गरेको आरोप लगाए। उनका अनुसार त्यसपछि विभिन्न सहरमा व्यापारिक प्रतिष्ठानमा लुटपाट र तोडफोड गर्ने समूह पनि घटनामा जोडिएका थिए।
यसको जवाफमा कडा वामपन्थी दल ‘ला फ्रान्स इन्सुमिज’का नेता जाँ–लुक मेलेन्चोनले सामाजिक सञ्जालमार्फत गृहमन्त्री र प्रहरी प्रमुखहरूको आलोचना गरे। उनले प्रदर्शन नियन्त्रणमा उनीहरूले अक्षमता देखाएको आरोप लगाए।
त्यस्तै, कडा दक्षिणपन्थी दल ‘नेसनल र्याली’की नेता म्यारिन ले पेनले हिंसालाई प्रोत्साहन गर्ने राजनीतिक शक्तिहरूले जनताको आक्रोशको दुरुपयोग गरेको भन्दै विरोध जनाइन्।