काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा जारी विद्यार्थी प्रदर्शनलाई ‘अनियन्त्रित सामूहिक बसाइँसराइ’ र इस्लामसँग जोड्दै टिप्पणी गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै फ्रान्समा भइरहेको घटनालाई शिक्षा क्षेत्रको समस्या मात्र नभई आप्रवासन र इस्लामसँग सम्बन्धित विषयका रूपमा व्याख्या गरेका हुन्।
फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयको अवस्थालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शन जारी छ। फ्रान्सेली हाइस्कुलका विद्यार्थीहरूले शिक्षकको अभाव, कक्षाकोठामा अत्यधिक भीड, कमजोर पूर्वाधार तथा आवश्यक स्रोत–साधनको कमीलाई मुख्य मुद्दा बनाउँदै प्रदर्शन सुरु गरेका थिए। क्रमशः प्रदर्शन देशका विभिन्न सहरमा फैलिएको छ।
राजधानी पेरिससहित मार्सेई, लियोन, लिल र स्ट्रासबर्गमा विद्यार्थीहरूले विद्यालयका प्रवेशद्वार अवरुद्ध गरेका छन्। केही स्थानमा प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ। केही स्थानमा सवारीसाधनमा आगजनी गरिएका घटना पनि सार्वजनिक भएका छन्।
यिनै घटनालाई लिएर ट्रम्पले मंगलबार फ्रान्समा जारी प्रदर्शनमाथि टिप्पणी गरेका हुन्। उनले ‘ट्रुथ सोसल’मा फ्रान्समा भइरहेको घटना ‘अनियन्त्रित मास माइग्रेसन’को परिणाम भएको दाबी गर्दै यसलाई इस्लामसँग पनि जोडेका छन्।
फ्रान्सेली गृह मन्त्रालयका अनुसार मंगलबार देशभर करिब २ लाख ५० हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए। आयोजकहरूले भने सहभागीको संख्या ४ लाखभन्दा बढी रहेको दाबी गरेका छन्। प्रदर्शनकारीहरूको मुख्य माग शिक्षा प्रणालीमा सुधार रहेको बताइएको छ। तर केही स्थानमा हिंसा भड्किएपछि यसले राजनीतिक बहसलाई समेत चर्काएको छ।
ट्रम्पले यसअघि पनि युरोपेली देशहरूको आप्रवासन नीतिको आलोचना गर्दै आएका छन्। उनको प्रशासनले युरोपेली देशहरूलाई सीमा नियन्त्रण थप कडा बनाउन आग्रह गर्दै आएको छ। फ्रान्समा भएको प्रदर्शनलाई लिएर दक्षिणपन्थी राजनीतिक दलहरूले पनि सुरक्षा तथा आप्रवासनका विषयमा चिन्ता व्यक्त गरेका छन्।
‘नेसनल र्याली’की नेता मरीन ले पेनले हिंसात्मक घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न माग गरेकी छन्। यता, फ्रान्सेली सरकारले प्रदर्शन नियन्त्रण तथा सार्वजनिक सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरेको छ।