पोप लियो चौधौँलाई फोक्सोको क्यान्सर, शल्यक्रिया सफल

पोप लियो चौधौँलाई फोक्सोको क्यान्सर, शल्यक्रिया सफल

बीबीसी । पोप लियो चौधौँलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ । उनको दाहिने फोक्सोको तल्लो भाग हटाउने शल्यक्रिया सफल भएको भ्याटिकानले जनाएको छ ।

७१ वर्षीय पोपको रोमस्थित जेमेली अस्पतालमा मंगलबार करिब ९० मिनेट लामो शल्यक्रिया गरिएको थियो । भ्याटिकानका अनुसार परीक्षणका क्रममा उनको फोक्सोमा गिर्खा भेटिएपछि थप जाँच गरिएको थियो । त्यसक्रममा उनलाई फोक्सोको क्यान्सरको एक प्रकार ‘पल्मोनरी एडेनोकार्सिनोमा’ भएको पुष्टि भएको हो ।

भ्याटिकानले जारी गरेको मेडिकल बुलेटिनमा शल्यक्रिया सफल भएको र कुनै जटिलता नदेखिएको उल्लेख छ । शल्यक्रियापछि पोप सामान्य अवस्थामा ब्युँझिएको र केही समय निगरानीमा राखेपछि आफ्नो कोठामा फर्किएको जनाइएको छ ।

क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ वा छैन भन्नेबारे थप परीक्षण भइरहेको भ्याटिकान स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

यसअघि पोपले सेन्ट पिटर्स स्क्वायरबाट परम्परागत ‘एन्जेलस’ आशीर्वाद दिने क्रममा आफ्नो फोक्सोमा गिर्खा देखिएको र चिकित्सकहरूले शल्यक्रिया गर्न सुझाव दिएको बताएका थिए । उनका अनुसार गिर्खा प्रारम्भिक चरणमै भेटिएको र अवस्था नियन्त्रणमा रहेको थियो ।

पोपको उपचारका लागि जेमेली अस्पतालको थोरासिक सर्जरी टोली परिचालन गरिएको थियो । उनलाई स्वास्थ्यलाभका लागि पर्याप्त समय दिन अक्टोबर २० सम्मका सबै निर्धारित कार्यक्रम रद्द गरिएको भ्याटिकानले जनाएको छ ।

पोपको स्वास्थ्यसम्बन्धी खबर सार्वजनिक भएपछि विश्वभरका क्याथोलिक समुदायमा चिन्ता बढेको छ । शल्यक्रियाका क्रममा उनी अस्पताल पुग्दा उनलाई अभिवादन गर्न ठूलो सङ्ख्यामा मानिस अस्पतालबाहिर उपस्थित भएका थिए । उनीहरूले पोपको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।

भ्याटिकानका सेक्रेटरी अफ स्टेट कार्डिनल पारोलिनले पोपको बिरामीसम्बन्धी खबर अप्रत्याशित भएको बताएका छन् । यद्यपि, पोपको शान्त स्वभावबाट आफूहरू प्रभावित भएको र उनी निको हुनेमा आशावादी रहेको उनले बताएका छन् ।

टोकियोका कार्डिनल किकुची तार्किसियो इसाओका अनुसार पोपले आगामी नोभेम्बरको सुरुआतमा ल्याटिन अमेरिका भ्रमण गर्ने योजना बनाएका छन् । उक्त भ्रमणमा पेरु पनि समावेश छ, जहाँ पोपले लामो समय मिसनरी तथा पछि बिसपका रूपमा सेवा गरेका थिए ।

पोपको स्वास्थ्यबारे चिन्ता व्यक्त गर्दै अस्पतालबाहिर उपस्थित क्याथोलिकहरूले उनको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरिरहेको बताएका छन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!