काठमाडौं । पाकिस्तानमा खाना पकाउन प्रयोग हुने ग्यास अर्थात् लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) को मूल्यमा भारी वृद्धि भएको छ।
बीबीसी उर्दूका अनुसार पाकिस्तानका धेरै भागमा एलपीजीको मूल्य प्रतिसिलिन्डर ६०० रुपैयाँभन्दा बढीले बढेको छ। ११.६७ किलोग्रामको सिलिन्डरको मूल्य बढेर सात हजार रुपैयाँ पुगेको छ। गत सातासम्म यसको मूल्य करिब चार हजार पाँच सय रुपैयाँ थियो।
पाकिस्तानको फेडेरल ब्युरो अफ स्ट्याटिस्टिक्सले पनि महँगीसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै एलपीजीको मूल्यमा तीव्र वृद्धि भएको पुष्टि गरेको छ।
ब्युरोका अनुसार यस साताको अन्त्यसम्ममा एलपीजीको मूल्य अघिल्लो साताको तुलनामा २२.५० प्रतिशतले बढेको छ। त्यस्तै, गत वर्ष अक्टोबरको सोही साताको तुलनामा यसको मूल्य १०७ प्रतिशतसम्म वृद्धि भएको छ।
पाकिस्तानको तेल तथा ग्यास क्षेत्रको नियामक निकाय आयल एन्ड ग्यास रेगुलेटरी अथोरिटी (ओग्रा) ले अक्टोबर महिनाका लागि एलपीजीको आधिकारिक मूल्य प्रतिकिलोग्राम २७९ रुपैयाँ निर्धारण गरेको छ।
यद्यपि, फेडेरल ब्युरो अफ स्ट्याटिस्टिक्सको तथ्याङ्कअनुसार पाकिस्तानका विभिन्न भागमा एलपीजी प्रतिकिलोग्राम ५५० देखि ६१० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। यसले सरकारी मूल्य र बजारमा उपभोक्ताले तिर्नुपर्ने वास्तविक मूल्यबीच ठूलो अन्तर देखाएको छ।