काठमाडौं । पाकिस्तानमा राजनीतिक सङ्कट थप गहिरिएको छ। शहबाज सरिफ नेतृत्वको सङ्घीय सरकारले आइतबार खैबर-पख्तूनख्वा प्रान्तमा आपत्काल घोषणा गर्दै त्यहाँको प्रान्तीय सरकार बर्खास्त गरेको छ। राष्ट्रपति आसिफ अली जरदारीले यससम्बन्धी औपचारिक घोषणा गरेका छन्।
बर्खास्त गरिएको खैबर-पख्तूनख्वा प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को सरकार थियो। प्रान्तका मुख्यमन्त्री सोहेल अफरीदी पूर्वप्रधानमन्त्री खानको रिहाइको माग गर्दै आफ्ना समर्थकसहित अक्टोबर ४ देखि राजधानी इस्लामाबादतर्फ पदयात्रामा निस्किएका थिए। यही राजनीतिक तनावका बीच सङ्घीय सरकारले प्रान्तीय सरकार बर्खास्त गर्ने निर्णय गरेको हो। यससँगै मुख्यमन्त्री अफरीदीले पद गुमाउनुपर्ने भएको छ।
शहबाज सरिफ सरकारले पीटीआई नेतृत्वको प्रान्तीय सरकारमाथि आतङ्कवादविरुद्धको अभियानमा जानाजानी सहयोग नगरेको आरोप लगाएको छ। सरकारले देशमा आतङ्कवादलाई कुनै पनि हालतमा सहन नसकिने भन्दै आपत्काल घोषणा गर्ने निर्णयको बचाउ गरेको छ।
यसैबीच, पीटीआईले सङ्घीय सरकारको निर्णयको कडा शब्दमा विरोध गरेको छ। पार्टी अध्यक्ष ब्यारिस्टर गौहर अली खानले यस कदमलाई अलोकतान्त्रिक र गम्भीर राजनीतिक भूलको संज्ञा दिएका छन्। प्रान्तको स्वायत्तता र अधिकार कमजोर बनाएर खैबर-पख्तूनख्वामा शान्ति तथा स्थिरता कायम गर्न नसकिने उनको भनाइ छ।
इमरान खानका निकट सहयोगी तथा पीटीआईका प्रवक्ता जुल्फिकार (जुल्फी) बुखारीले पनि सङ्घीय सरकारको निर्णयलाई ‘हास्यास्पद’ बताएका छन्। उनले खैबर-पख्तूनख्वा सरकार पाकिस्तानमा जनताद्वारा कानुनी रूपमा निर्वाचित एक मात्र वैध प्रान्तीय सरकार रहेको दाबी गरेका छन्।
सङ्घीय सरकारको निर्णयले पाकिस्तानमा केन्द्र र प्रान्तबीचको राजनीतिक तनाव थप चर्किने देखिएको छ।