नरेश भट्टको हत्या मुद्दा चौथो सातामा, करौँतीमा शङ्कास्पद दाग र कपाल भेटिएको बयान

नरेश भट्टको हत्या मुद्दा चौथो सातामा, करौँतीमा शङ्कास्पद दाग र कपाल भेटिएको बयान

भर्जिनिया । अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा नेपाली मूलकी ममता काफ्ले भट्ट बेपत्ता भएको घटनासम्बन्धी हत्या मुद्दाको सुनुवाइ चौथो सातामा प्रवेश गरेको छ। श्रीमतीको हत्या गरी शव लुकाएको आरोप लागेका नरेश भट्टविरुद्ध अभियोजन पक्षले विभिन्न प्रमाण र साक्षी प्रस्तुत गर्ने क्रम जारी राखेको छ।

ममताको शव अहिलेसम्म फेला परेको छैन। सुनुवाइ सुरु भएयता जुरी सदस्यहरूले ५६ जना साक्षीको बयान सुन्नुका साथै निगरानी क्यामेराका फुटेज, प्रहरीका अन्तर्वार्ता र घटनास्थलबाट सङ्कलित प्रमाणहरूको समीक्षा गरेका छन्।

अभियोजन पक्षले दम्पतीको घरमा भेटिएका रगतजस्ता देखिने दाग, नरेशले विभिन्न डम्पस्टरमा फोहोरका झोला फालेको भनिएको भिडियो तथा अन्य परिस्थितिजन्य प्रमाणलाई मुद्दाको आधार बनाएको छ। यद्यपि, नरेशले आफूमाथि लागेका प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवलाई दूषित पारेको लगायतका आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन्।

सोमबारको सुनुवाइमा अपराधस्थल अनुसन्धानकर्ताहरूले घर, ग्यारेज, कपडा दान गर्ने भाँडा र नरेशले बेचेको टेस्ला कारबाट सङ्कलन गरिएका प्रमाणबारे बयान दिएका थिए।

करौँतीमा रगतजस्ता दाग र कपालका रेशा

मुद्दाको सुनुवाइका क्रममा प्रमुख अपराधस्थल अनुसन्धानकर्ता एन्ड्रिया फेल्डम्यानले हरियो रङको रियोबी ब्रान्डको करौँतीमा रातो–खैरो दाग र एकदेखि दुई इन्च लामा कपालजस्ता रेशा भेटिएको बताइन्।

उनका अनुसार करौँतीको बिँड र हावा छिर्ने प्वाल नजिकै शङ्कास्पद दाग भेटिएका थिए भने कपालजस्ता रेशा करौँतीको अगाडि र बीचको भागमा केन्द्रित थिए। थप परीक्षणका लागि उक्त उपकरण फरेन्सिक विज्ञान विभागमा पठाइएको उनले बताइन्।

होम डिपोका सुरक्षा अनुसन्धानकर्ता मार्क म्याथ्यू हर्नान्डेजले सन् २०२४ जुन २ मा फेयरफ्याक्सस्थित स्टोरबाट उक्त करौँती, ब्लेड र ब्याट्री किट खरिद गरिएको विषयमा बयान दिए। स्टोरको रसिद र निगरानी क्यामेराको फुटेजमा नरेशजस्तै देखिने व्यक्ति ती सामग्री बोकेर हिँडिरहेको देखिएको उनको भनाइ थियो।

ममता बेपत्ता भएपछि नरेशले उक्त करौँती एक जना ल्यान्डस्केपरलाई दिएको र पछि ती व्यक्तिले प्रहरीलाई बुझाएको बयानमा उल्लेख छ।

ग्यारेजको फोहोर फाल्ने भाँडोमा रासायनिक परीक्षण

अपराधस्थल अनुसन्धानकर्ता अलेक्ज्याण्डर कोर्डनरले भट्ट दम्पतीको घरमा गरिएको खानतलासीका क्रममा ग्यारेजको फोहोर फाल्ने भाँडोमा ‘ब्लुस्टार’ नामक रसायन प्रयोग गरी परीक्षण गरिएको बताए। उक्त रसायन प्रयोग गर्दा भाँडोको भित्र र बाहिर नीलो चम्किलो प्रतिक्रिया देखिएको थियो।

तर, कोर्डनरले उक्त रसायनले रगतबाहेक अन्य पदार्थमा पनि प्रतिक्रिया दिन सक्ने र त्यसबाट मात्रै रगत भएको शतप्रतिशत पुष्टि नहुने स्वीकार गरे। यो प्रारम्भिक परीक्षण मात्र भएको उनको भनाइ थियो।

अनुसन्धानकर्ताहरूले चान्टिलीस्थित लिबर्टी ग्यास स्टेसननजिकका कपडा दान गर्ने भाँडाहरूबाट पनि फोहोरका झोला, जुत्ता, बाथ म्याट र कपडाजस्ता सामग्री सङ्कलन गरेका थिए। तीमध्ये एउटा बाथ म्याटमा रगत लतपतिएको जस्तो देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

टेस्ला कारमा महत्त्वपूर्ण प्रमाण भेटिएन

प्रहरी अधिकारी स्टिफन अक्सेन्डाइनका अनुसार नरेशले सन् २०२४ अगस्ट १६ मा आफ्नो नीलो टेस्ला कार बेचेका थिए। पछि अनुसन्धानकर्ताहरूले उक्त गाडी स्टर्लिङबाट बरामद गरी फरेन्सिक परीक्षणका लागि पठाएका थिए।

फेल्डम्यानले गाडी निकै सफा गरिएको अवस्थामा भेटिएको भए पनि अनुसन्धानकर्ताहरूले कारभित्र महत्त्वपूर्ण प्रमाण फेला पार्न नसकेको बताइन्। ब्लुस्टार परीक्षणबाट पनि रगत हुन सक्ने सकारात्मक प्रतिक्रिया नदेखिएको उनको बयान थियो।

घरमा असामान्य रूपमा पानी खपत

मनासस पार्क सहरका सार्वजनिक निर्माण विभागका सुपरिटेन्डेन्ट वेन मार्टिनले सन् २०२४ जुलाई ३१ मा भट्टको घरमा असामान्य रूपमा पानी खपत भएको तथ्याङ्क अदालतमा प्रस्तुत गरे।

उनका अनुसार दुई घण्टाको अवधिमा करिब १६० ग्यालन पानी प्रयोग भएको थियो। दिउँसो १२ देखि १ बजेसम्म मात्रै १११ ग्यालनभन्दा बढी पानी खपत भएको थियो। सामान्य अवस्थामा उक्त घरमा प्रतिघण्टा दुईदेखि ३० ग्यालनसम्म पानी प्रयोग हुने गरेको तथ्याङ्क थियो।

तर, मार्टिनले घरमा गएर पाइप चुहावट वा स्प्रिंकलरमा समस्या भए–नभएको जाँच नगरेको र आफ्नो विश्लेषण करिब एक महिनाको तथ्याङ्कमा आधारित रहेको स्वीकार गरे। अभियोजन पक्षले पानीको असामान्य खपतलाई घटनासँग जोडेर प्रस्तुत गरिरहेको छ।

गुगल सर्च र वैवाहिक सम्बन्धबारे बयान

अदालतमा प्रस्तुत बयानअनुसार, नरेशले प्रयोग गरेको कामसम्बन्धी गुगल खाताको सर्च हिस्ट्री समीक्षा गर्दा सन् २०२४ अप्रिल १२ मा जीवनसाथीको मृत्युपछि ऋणको अवस्था र पुनः विवाह गर्न लाग्ने समयबारे खोजिएको पाइएको थियो। प्रेमिकालाई नयाँ वर्षको शुभकामना सन्देशसम्बन्धी खोज पनि देखिएको बयानमा उल्लेख छ।

तर, सर्च हिस्ट्रीको समीक्षा गरेका ड्यानियल चार्ल्स मूरले ती खोज नरेशले नै गरेका हुन् भनेर प्रत्यक्ष रूपमा पुष्टि गर्न नसक्ने स्वीकार गरेका थिए।

स्थानीय नेपाली समुदायका सदस्य आशिष सङ्ग्रौला र उनकी श्रीमती दीपा ओलीले पनि नरेश र ममताबीचको वैवाहिक सम्बन्धमा समस्या रहेको विषयमा बयान दिएका थिए। सङ्ग्रौलाका अनुसार नरेशले आफूहरूबीच झगडा हुने गरेको बताएका थिए। ओलीले पनि नरेशले ममतासँगको सम्बन्ध निरन्तरता दिन नचाहेको बताएको स्मरण गरिन्।

यद्यपि, सङ्ग्रौलाले नरेश वा ममताले एकअर्कामाथि हिंस्रक व्यवहार गरेको आफूले प्रत्यक्ष रूपमा नदेखेको स्पष्ट पारे।

ममता अझै बेपत्ता

ममता काफ्ले भट्टलाई अन्तिम पटक सन् २०२४ जुलाई २९ मा भिडियो कलमा देखिएको बताइएको छ। उनी आफ्नी छोरीको पहिलो जन्मदिन आउनुभन्दा केही साताअघि बेपत्ता भएकी थिइन्। प्रहरीले उनको शव फेला पार्न सकेको छैन।

अभियोजन पक्षले विभिन्न परिस्थितिजन्य प्रमाणका आधारमा नरेशविरुद्धको मुद्दा अघि बढाइरहेको छ। नरेशले भने सबै आरोप अस्वीकार गरेका छन्। मुद्दाको सुनुवाइ प्रिन्स विलियम काउन्टीको सर्किट कोर्टमा न्यायाधीश किम्बर्ली इरभिङको इजलासमा जारी छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!