नेप्सेमा ‘डब्लू’ आकृति, बजार बढ्ने संकेत; बैंकिङ र उत्पादनमूलक समूह बलियो

नेप्सेमा ‘डब्लू’ आकृति, बजार बढ्ने संकेत; बैंकिङ र उत्पादनमूलक समूह बलियो

काठमाडौं । पछिल्लो समय २ हजार ६२९ विन्दुबाट लगातार घट्दै २ हजार ५६६ विन्दुसम्म पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले पुनः वृद्धि हुने प्रयास गरिरहेको छ। प्राविधिक विश्लेषणअनुसार नेप्सेको रेखाचित्रमा अंग्रेजी अक्षर ‘डब्लू’ आकार अर्थात् ‘डबल बटम’ बनेको छ। यसलाई बजारमा सुधार आउन सक्ने सम्भावित संकेतका रूपमा हेरिन्छ।

यस क्रममा नेप्सेले २ हजार ५६६ र २ हजार ५७२ विन्दुमा दुईवटा बटम बनाएको छ। पछिल्लो कारोबार दिन परिसूचक २ हजार ५९१ विन्दुमा पुगेको छ। अब नेप्सेले २ हजार ६०० विन्दुमा सामान्य प्रतिरोधको सामना गर्न सक्ने देखिन्छ। यद्यपि, बजारले आगामी दिनमा कस्तो दिशा लिन्छ भन्ने कुरा कारोबारको अवस्था र लगानीकर्ताको प्रतिक्रियामा निर्भर रहनेछ।

यसैबीच, बजारलाई सकारात्मक प्रभाव पार्न सक्ने केही घटनाक्रम विकसित भएका छन्। आधारभूत सेयरधनीले सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने व्यवस्थाका कारण अन्योलमा परेका लगानीकर्तालाई राहत पुग्ने गरी नेपाल धितोपत्र बोर्डले उक्त व्यवस्थामा संशोधन गरेको छ।

बोर्डले शुक्रबार निर्देशन संशोधन गर्दै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्दाको अवस्थामा कायम रहेका आधारभूत सेयरधनीलाई मात्रै उक्त व्यवस्था लागू हुने गरी प्रावधान परिमार्जन गरेको हो।

संशोधित व्यवस्थाअनुसार आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयरमध्ये १५ प्रतिशत सेयर बिक्री गर्नुपरेमा पाँच दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्नेछ। सेयर बिक्रीको जानकारी प्राप्त भएपछि कम्पनीले स्टक एक्सचेन्जलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

यसअघि आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयरमध्ये पाँच प्रतिशत बिक्री गर्नुपर्दा १५ दिनअघि नै स्टक एक्सचेन्जलाई सूचना दिनुपर्ने व्यवस्था थियो।

कम्पनी ऐनअनुसार २५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीमा एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने व्यक्तिलाई आधारभूत सेयरधनी मानिने व्यवस्था छ। सबै आधारभूत सेयरधनीले यस्तो जानकारी दिनुपर्ने हो कि भन्ने आशंकाले बजारमा अन्योल सिर्जना गरेको थियो।

नयाँ व्यवस्थासँगै दोस्रो बजारबाट सेयर खरिद गरेर कम्पनीमा एक प्रतिशतभन्दा बढी स्वामित्व कायम गरेका सेयरधनीले सेयर बिक्री गर्दा उक्त पूर्वसूचना दिनुपर्ने प्रावधानबाट छुट पाउने भएका छन्।

यसअघि संस्थापक सेयरधनीले सेयर बिक्रीसम्बन्धी जानकारी दिँदा पनि बजारमा प्रभाव परेको देखिएको थियो। त्यसैले संशोधित निर्देशनप्रति बजारले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरा सोमबारको कारोबारपछि स्पष्ट हुनेछ। प्राविधिक विश्लेषणमा देखिएको ‘डब्लू’ आकृतिले पनि बजारमा सुधारको सम्भावना देखाएकाले आगामी कारोबार सकारात्मक हुन सक्ने अनुमान गरिएको छ।

नेप्सेको विपरीत वाणिज्य बैंक सूचक बलियो

नेप्से परिसूचकमा केही समयदेखि ‘डेथ क्रस–ओभर’ देखिएको छ। तर, वाणिज्य बैंक समूहको सूचकमा भने यसको ठीक विपरीत अवस्था देखिएको छ।

डेथ क्रस–ओभर र गोल्डेन क्रस–ओभर प्राविधिक विश्लेषणमा प्रयोग हुने सूचक हुन्। यी सूचक ५० दिने र २०० दिने मुभिङ एभरेज (औसत) रेखाका आधारमा विश्लेषण गरिन्छ। छोटो अवधिको ५० दिने रेखाले लामो अवधिको २०० दिने रेखालाई काट्नु क्रस–ओभर हो।

५० दिने मुभिङ एभरेज रेखा तल झर्दै २०० दिने रेखाभन्दा तल पुगेमा त्यसलाई ‘डेथ क्रस–ओभर’ भनिन्छ। यसले बजारमा बियरिस अर्थात् घट्दो प्रवृत्ति बलियो हुन सक्ने संकेत गर्छ।

यसको विपरीत, ५० दिने रेखा उकालो लाग्दै २०० दिने रेखाभन्दा माथि पुगेमा ‘गोल्डेन क्रस–ओभर’ भएको मानिन्छ। यसले बजारमा बुलिस अर्थात् बढ्दो प्रवृत्ति बलियो हुन सक्ने संकेत गर्छ।

नेप्से परिसूचकमा हाल २०० दिने मुभिङ एभरेज ५० दिने रेखाभन्दा माथि छ। यसले समग्र बजारमा बियरिस प्रवृत्ति कायम रहेको संकेत गर्छ। तर, वाणिज्य बैंक समूहको सूचकमा ५० दिने मुभिङ एभरेज २०० दिने रेखाभन्दा माथि छ। साथै, बैंकिङ सूचक दुवै मुभिङ एभरेज रेखाभन्दा माथि रहेको छ।

यसले पछिल्लो समय वाणिज्य बैंक समूह समग्र बजारको तुलनामा बलियो रहेको संकेत गर्छ।

उत्पादनमूलक समूहमा पनि सकारात्मक संकेत

उत्पादनमूलक समूहको सूचकमा पनि तुलनात्मक रूपमा बलियो अवस्था देखिएको छ। यो सूचक ५० दिने र २०० दिने दुवै मुभिङ एभरेज रेखाभन्दा माथि छ।

यद्यपि, यस समूहको ५० दिने र २०० दिने मुभिङ एभरेज एकअर्काको नजिकिँदै गइरहेका छन्। त्यसैले आगामी दिनमा यसको प्रवृत्तिमा परिवर्तन आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै लगानीकर्ताले सावधानी अपनाउनुपर्ने देखिन्छ।

अधिकांश समूहमा बियरिस प्रवृत्ति

विकास बैंक, वित्त कम्पनी, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, व्यापार र अन्य समूहका सूचकमा भने बियरिस प्रवृत्ति कायम छ। यी सबै समूहमा २०० दिने मुभिङ एभरेज ५० दिने रेखाभन्दा माथि रहेको छ।

जलविद्युत् समूहको सूचक भने केही समयअघिसम्म बुलिस प्रवृत्तिमा थियो। तर, हालै यस समूहमा पनि डेथ क्रस–ओभर देखिएको छ। यसले जलविद्युत् समूहको बजार प्रवृत्तिमा कमजोरी आउन थालेको संकेत गर्छ।

यद्यपि, नेपाली सेयर बजारमा उतारचढाव तीव्र हुने भएकाले यस्ता क्रस–ओभर छोटो समयमै देखिन र परिवर्तन हुन सक्छन्। त्यसैले मुभिङ एभरेज वा चार्टमा देखिएका संकेतलाई मात्रै आधार बनाएर लगानीसम्बन्धी निर्णय गर्नु उपयुक्त हुँदैन।

लगानीकर्ताले सम्बन्धित कम्पनीको वित्तीय अवस्था, नाफा, प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी अनुपात, लाभांश क्षमता र समग्र बजारको अवस्थासमेत विश्लेषण गरेर लगानीसम्बन्धी निर्णय लिनु उचित हुन्छ।

 

लिङ्क सफलतापूर्वक कापि गरियो!