नेपाली मूलकी ममता काफ्लेको हत्या अभियोगमा पति नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्लेको हत्या अभियोगमा पति नरेश भट्ट दोषी ठहर

अमेरिका । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या गरेको अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन्।

प्रिन्स विलियम काउन्टी अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो।

करिब पाँच घण्टा विचारविमर्श गरेपछि जुरीले स्थानीय समयअनुसार साँझ ५ बजे फैसला सुनाएको थियो। फैसला सुनाइएसँगै नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ। उनको सजाय निर्धारण सन् २०२७ मार्चमा हुने तय भएको छ।

फैसलापछि कमनवेल्थका अभियोजनकर्ता एमी एशवर्थले ममताको हत्या प्रकरणमा आएको फैसलाले न्यायको महत्त्वपूर्ण पक्ष पूरा गरेको बताइन्। उनले ममताको परिवारले दुई वर्षभन्दा बढी समयदेखि पीडा र अनिश्चितता भोग्नुपरेको उल्लेख गरिन्।

मंगलबारको सुनुवाइमा अभियोजन पक्षले विषविज्ञान विशेषज्ञ डा. अबिगेल केर्न्स र नरेशका पूर्वरूममेट आकाश रचलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो।

विशेषज्ञ केर्न्सले ममताले आत्महत्या गर्न प्रयोग गरेको भनिएको सेल्फोस नामक कृषि विषादीमा पाइने एल्युमिनियम फस्फाइडको असरबारे अदालतमा बयान दिएकी थिइन्। उनका अनुसार उक्त पदार्थ शरीरमा प्रवेश गरेपछि फस्फिन ग्यास उत्पादन हुन्छ। यसले पेटमा तीव्र दुखाइ, बान्ता, मुटुसम्बन्धी समस्या र श्वासप्रश्वासमा कठिनाइ निम्त्याउन सक्छ। गम्भीर अवस्थामा विष सेवन गरेको केही घण्टाभित्रै मृत्यु हुन सक्ने उनले बताएकी थिइन्।

त्यस्तै, नरेशका पूर्वरूममेट आकाश रचले सन् २०२१ मा उनीसँगै बस्दा भएको विवादबारे बयान दिएका थिए। उनका अनुसार विवादका क्रममा नरेशले बन्दुक निकालेर आफू र आफ्नी पत्नीलाई धम्क्याएका थिए।

ममताकी निकट साथी तथा सहकर्मी सुनिता बस्नेत थापाले पनि अदालतमा बयान दिएकी थिइन्। उनका अनुसार ममता आत्महत्या गर्ने स्वभावकी थिइनन् र उनले आफूलाई कहिल्यै आत्महत्या गर्ने इच्छा व्यक्त गरेकी थिइनन्। उनले सन् २०२३ डिसेम्बरमा ममताको अनुहारमा चोटसमेत देखेको बताएकी थिइन्।

अभियोजन पक्षले मुद्दामा करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको जनाएको थियो। यता, प्रतिरक्षा पक्षले भने अभियोजन पक्षले आरोप पुष्टि गर्न नसकेको दाबी गर्दै नरेशले अदालतमा दिएको बयान सत्य भएको जिकिर गरेको थियो। नरेशले ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए।

ममता सन् २०२४ मा बेपत्ता भएपछि उनको खोजी र घटनाको अनुसन्धान सुरु भएको थियो। त्यसपछि नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको लगायतका अभियोग लगाइएको थियो।

लिङ्क सफलतापूर्वक कापि गरियो!