विराटनगर । चाडपर्वका बेला नेपाली उपभोक्ताको अत्यधिक भिड लाग्ने नेपाल–भारत सीमावर्ती बजार जोगवनीमा यस वर्ष दसैँको व्यापार घटेको छ। विगतका वर्षमा दसैँका बेला खुट्टा राख्ने ठाउँसमेत नहुने जोगवनीमा यसपटक किनमेल गर्ने उपभोक्ताको उपस्थिति पातलो देखिएको छ।
जोगवनीको व्यापार घट्नुमा भन्सार नाकामा गरिएको कडाइ, सहायक नाकाबाट भइरहेको तस्करी र अनलाइन व्यापारको विस्तारलाई प्रमुख कारण मानिएको छ। विराटनगरका व्यापारीहरूले भने उपभोक्ताको घट्दो क्रयशक्तिलाई व्यापारमा आएको मन्दीको मुख्य कारण मानेका छन्।
विगतका वर्षमा जोगवनीमा दसैँको समयमा ठूलो कारोबार हुने गरेको थियो। एक सरकारी अधिकारीका अनुसार सामान्य अवस्थामा पनि जोगवनीमा दैनिक करिब पाँच करोड रुपैयाँको कारोबार हुने गरेको थियो। दसैँका बेला यो कारोबार बढेर १८ देखि २२ करोड रुपैयाँसम्म पुग्ने गरेको उनको भनाइ छ। तर, यस वर्ष कारोबार करिब आधाले घटेको अनुमान गरिएको छ।
विराटनगरका उद्योगी तथा व्यापारी सगुन बोहोरा कोभिड–१९ महामारीपछि मानिसहरूको आम्दानी र खर्च गर्ने क्षमतामा आएको गिरावटलाई व्यापार घट्नुको प्रमुख कारण मान्छन्।
‘मानिसहरूको खपत नै कम छ। चाडपर्वको मुखमा बिस्तारै किनमेल गर्नेहरू बढिरहेका छन्, तर कोभिडभन्दा अगाडिको खर्च गर्ने क्षमता अहिले छैन,’ उनले भने।
सरकारले लागू गरेको भन्सार नीतिका कारण पनि जोगवनी जाने उपभोक्ताको सङ्ख्या घटेको बोहोराको विश्लेषण छ। उनका अनुसार सरकारले सीमापारिबाट निश्चित रकमसम्मको सामान खरिद गर्न पाउने व्यवस्थासम्बन्धी सीमा तोकेपछि नेपाली ग्राहकको भिड कम भएको हुन सक्छ।
तर, सीमामा कडाइ गरिए पनि नेपाली बजारमा अपेक्षाअनुसार व्यापार नबढेको उनको भनाइ छ। ‘सरकारले सीमामा कडाइ गरेपछि नेपाली बजारमा उल्लेख्य सुधार देखिनुपर्ने हो, तर बजारमा त्यसअनुसारको परिवर्तन आएको छैन,’ उनले भने।
सहायक नाकाबाट अवैध सामानको ओसारपसार
जोगवनीको मुख्य भन्सार नाकामा कडाइ भएपछि व्यापारीहरूले पूर्वी मोरङका रंगेलीलगायत सहायक नाकाको प्रयोग बढाएको सुरक्षा स्रोतको दाबी छ। ती नाकाबाट अवैध रूपमा सामान भित्रिने क्रम व्यापक रहेको स्रोतले जनाएको छ।
एक सरकारी अधिकारीका अनुसार रंगेली क्षेत्रका थोक तथा किराना पसलमा भारतबाट ल्याइएका सामान सहजै पाइने गरेका छन्। त्यस्ता सामान विराटचोक, बेलबारी र पथरीलगायत पूर्वी क्षेत्रका बजारमा पनि बिक्री भइरहेको उनको भनाइ छ।
‘पूर्वका मध्यमस्तरका बजारमा भारतीय सामान सहजै पाइने अवस्था लामो समयदेखि छ। अहिले रंगेली नाकाको गतिविधि पनि बढेको छ,’ ती अधिकारीले भने।
व्यापारी बोहोराले पनि सहायक नाकाबाट तस्करी भइरहेको सम्भावनालाई अस्वीकार गरेका छैनन्। ‘सहायक नाकाहरू तस्करीका लागि प्रयोग भइरहेका हुन सक्छन्,’ उनले भने।
डिजिटल भुक्तानी र मूल्य स्थिरताको प्रभाव
जोगवनीको व्यापार घट्नुमा डिजिटल भुक्तानीसम्बन्धी समस्या पनि एउटा कारण हुन सक्ने सरकारी अधिकारीको भनाइ छ। उनका अनुसार नेपाली उपभोक्ताले सरकारी निगरानीमा पर्ने डरले भारतीय व्यापारीका क्युआर कोडमा रकम पठाउन छाडेका हुन सक्छन्।
तर, बोहोरा यसलाई प्रमुख समस्या मान्दैनन्। जोगवनीका धेरै व्यापारी विराटनगरकै भएकाले उनीहरूले नेपाली रुपैयाँ नै स्वीकार गर्ने गरेको उनको भनाइ छ।
‘जोगवनीका धेरै पसलेको सम्बन्ध विराटनगरसँग छ। त्यहाँका अधिकांश पसलमा नेपाली रुपैयाँ नै चल्छ। त्यसैले क्युआर भुक्तानीलाई मुख्य समस्या मान्न सकिँदैन,’ उनले भने।
नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य स्थिर रहनुले पनि उपभोक्तालाई सीमापारि जानुपर्ने बाध्यता कम गरेको व्यापारीहरू बताउँछन्। साल्ट ट्रेडिङसँग चिनीको पर्याप्त मौज्दात रहेकाले बजारमा अभाव नभएको बोहोरा बताउँछन्। उनका अनुसार दसैँ–तिहारको समयमा पनि चिनीको ठूलो अभाव देखिएको छैन।
खाने तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि ठूलो परिवर्तन नभएको उनको भनाइ छ। ‘तेलको बजार अवस्था छ महिनाअघिकै जस्तो छ। केही वस्तुको मूल्यमा १० देखि २० रुपैयाँसम्म तलमाथि भएको हुन सक्छ, तर दैनिक उपभोग्य वस्तुको मूल्य सामान्यतः स्थिर छ,’ उनले भने।
अनलाइन व्यापारले पनि घटायो सीमापारिको आकर्षण
काठमाडौँबाट टिकटक तथा अन्य सामाजिक सञ्जालमार्फत सञ्चालन हुने अनलाइन व्यापारको विस्तारले पनि जोगवनी जाने उपभोक्ताको सङ्ख्यामा प्रभाव पारेको हुन सक्ने कतिपयको भनाइ छ।
यसका साथै, जोगवनी बजारमा हुने अत्यधिक भिडभाड र चोरीको जोखिमका कारण उपभोक्ताले आफ्नै गाउँ तथा सहरका बजारलाई प्राथमिकता दिएको हुन सक्ने उनीहरूको अनुमान छ।
क्रयशक्तिमा आएको गिरावट, भन्सार नीतिमा गरिएको परिवर्तन, सहायक नाकाबाट हुने अवैध कारोबार, अनलाइन व्यापारको विस्तार र नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य स्थिर रहनुलगायत कारणले यस वर्ष जोगवनीको दसैँ व्यापार प्रभावित भएको देखिएको छ।