दसैँपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

दसैँपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार गत असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ थियो । आइतबारको कारोबारमा घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको हो ।

त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । दसैँअघि प्रतिदश ग्राम सुनको मूल्य २ लाख ४८ हजार ७१५ रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ३९१ रुपैयाँ कायम भएको छ । दसैँअघि प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ५५८ रुपैयाँ थियो ।

लिङ्क सफलतापूर्वक कापि गरियो!