नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा तीव्र रूपमा बढिरहेको वायु प्रदूषण नियन्त्रण गर्न प्रशासनले थप कडा कदम चालेको छ। प्रदूषण फैलाउने सवारीसाधनको आवागमन घटाउने उद्देश्यले पार्किङ शुल्क दोब्बर पारिएको छ भने सरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई घरबाटै काम (वर्क फ्रम होम) गर्न निर्देशन दिइएको छ।
मुख्यमन्त्री रेखा गुप्ताको कार्यालयका अनुसार नोभेम्बर १ देखि दिल्लीमा ‘शीतकालीन कार्ययोजना’ पूर्ण रूपमा कार्यान्वयनमा आएको छ। नयाँ व्यवस्थाअनुसार तोकिएको उत्सर्जन मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई दिल्ली प्रवेशमा रोक लगाइएको छ। त्यस्तै, धुलो उड्ने गरी गरिने भत्काउने कार्य तथा खुला क्षेत्रमा हुने निर्माण गतिविधिमा पनि तत्कालका लागि प्रतिबन्ध लगाइएको छ।
यसअघि नै दिल्ली सरकारले फोहोर जलाउने तथा सडक किनारका पसलहरूमा कोइला र दाउराको प्रयोगमा रोक लगाइसकेको छ। तर नोभेम्बरदेखि जनवरीसम्म तापक्रम घट्दै जाँदा प्रदूषक कणहरू वायुमण्डलको तल्लो तहमा जम्ने भएकाले प्रदूषण नियन्त्रण चुनौतीपूर्ण बन्दै आएको छ।
भारतको वातावरण मन्त्रालयका अनुसार जाडोयाममा दिल्लीको वायु प्रदूषणमा सवारीसाधनको योगदान २३ प्रतिशत, कृषि अवशेष जलाउने कार्यको २० प्रतिशत र औद्योगिक गतिविधिको ९ प्रतिशत रहने गरेको छ।
स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने सूक्ष्म कण पीएम–२.५ को मात्रा जाडोयाममा प्रतिघनमिटर ३०० माइक्रोग्रामभन्दा माथि पुग्ने गरेको छ। यो विश्व स्वास्थ्य संगठनले तोकेको दैनिक औसत सीमाभन्दा करिब २० गुणा बढी हो। गत वर्ष यस्तो मात्रा बढेर प्रतिघनमिटर ८४६ माइक्रोग्रामसम्म पुगेको थियो। यद्यपि, आइतबार भएको वर्षाका कारण प्रदूषणको मात्रा केही घटेर २०१ माइक्रोग्राममा झरेको बताइएको छ।
‘द ल्यान्सेट प्लानेटरी हेल्थ’ मा प्रकाशित एक अध्ययनअनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको थियो।
प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ प्रतिबन्ध प्रभावकारी बनाउन दिल्ली प्रशासनले सर्वसाधारणलाई अभियानमा सहयोग गर्न आग्रह गरेको छ।