दिल्लीमा प्रदर्शनकारीमाथि लाठीचार्ज, ३०० जना प्रहरी नियन्त्रणमा

दिल्लीमा प्रदर्शनकारीमाथि लाठीचार्ज, ३०० जना प्रहरी नियन्त्रणमा

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित बङ्ग्ला साहिब गुरुद्वारामा आश्रय लिइरहेका प्रदर्शनकारीहरू जन्तर मन्तरतर्फ अघि बढ्न खोज्दा प्रहरीले लाठीचार्ज गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारीहरूका अनुसार शुक्रबारदेखि करिब ६०० जना गुरुद्वाराभित्र आश्रय लिएर बसिरहेका थिए । तीमध्ये करिब ३०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनीहरूले बताएका छन् ।

यद्यपि, दिनभरमा कति जनालाई नियन्त्रणमा लिइयो भन्नेबारे दिल्ली प्रहरीले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।

दक्षिण भारतीय सहर हैदराबादका सफ्टवेयर इन्जिनियर अजय जिङ्गाडेले आफूहरू बिहानैदेखि जन्तर मन्तरतर्फ अघि बढ्न खोजे पनि प्रहरीले रोकेको बताए ।

उनले बीबीसीसँग भने, ‘हामी बिहानैदेखि जन्तर मन्तरतर्फ अघि बढ्ने प्रयास गरिरहेका छौँ, तर प्रहरीले हामीलाई अगाडि बढ्न दिइरहेको छैन। केही समयअघि हामीमाथि लाठीचार्जसमेत गरियो।’

यसैबीच, गुरुद्वारातर्फ जाने सडकहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने आवागमन रोक्न कडा ब्यारिकेडिङ गरिएको छ ।

प्रहरीको धरपकडका बाबजुद प्रदर्शनकारीहरूले आफूहरू पछि नहट्ने र जन्तर मन्तर पुग्ने प्रयास जारी राख्ने बताएका छन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!