दुई महिनामै विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढ्यो, ४० खर्ब नाघ्यो

दुई महिनामै विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढ्यो, ४० खर्ब नाघ्यो

काठमाडौँ । नेपालको कुल विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा गणना गर्दा विदेशी मुद्रा सञ्चिति असार मसान्तको २५ अर्ब ३१ करोड डलरबाट ४.६ प्रतिशतले बढेर भदौ मसान्तमा २६ अर्ब ४८ करोड डलर पुगेको छ ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चिति ४ प्रतिशतले बढेर ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो सञ्चिति ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ थियो । त्यस्तै, राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति ७.२ प्रतिशतले बढेर ४ खर्ब ५५ अर्ब १ करोड रुपैयाँ पुगेको छ । भदौ मसान्तसम्म कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.३ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा शोधनान्तर बचत अघिल्लो वर्षको १ अर्ब १० करोड डलरबाट बढेर १ अर्ब २३ करोड डलर पुगेको छ ।

यसैगरी, चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता बचत १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा चालु खाता बचत ९३ करोड ६७ लाख डलरबाट बढेर १ अर्ब ११ करोड डलर पुगेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर भने अघिल्लो वर्षको २ अर्ब २० करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ । प्रत्यक्ष वैदेशिक लगानीमा भने सुधार देखिएको छ । इक्विटीका रूपमा २ अर्ब ९८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब २७ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।

भदौ मसान्तमा विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ६१.६ प्रतिशत, कुल आयातको १४८.५ प्रतिशत र विस्तृत मुद्राप्रदायको ४४.९ प्रतिशत बराबर रहेको छ । असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत थिए ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । सन् २०२५ को भदौ मसान्तमा प्रतिब्यारेल ६९.६९ अमेरिकी डलर रहेको ब्रेन्ट कच्चा तेलको मूल्य सन् २०२६ को सोही अवधिमा ८३.४ प्रतिशतले बढेर १२७.८४ अमेरिकी डलर पुगेको छ ।

त्यस्तै, सुनको मूल्य पनि बढेको छ । सन् २०२५ को भदौ मसान्तमा प्रतिऔँस ३ हजार ६९५.४० अमेरिकी डलर रहेको सुनको मूल्य सन् २०२६ को सोही अवधिमा १५.४ प्रतिशतले बढेर ४ हजार २६३.५५ अमेरिकी डलर पुगेको छ ।

२०८३ असार मसान्तको तुलनामा भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७ प्रतिशतले अवमूल्यन भएको थियो ।

राष्ट्र बैंकका अनुसार भदौ मसान्तमा अमेरिकी डलरको खरिद विनिमय दर एक डलर बराबर १५३ रुपैयाँ २४ पैसा कायम भएको छ । असार मसान्तमा यस्तो दर १५३ रुपैयाँ ७२ पैसा थियो ।

लिङ्क सफलतापूर्वक कापि गरियो!