काठमाडौं । मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक इन्जेक्सन दिइए पनि अमेरिकी कैदी क्रिस्टा गेल पाइक जीवितै बचेकी छन्। मृत्युदण्डको प्रक्रियापछि करिब एक सातासम्म बेहोस रहेकी पाइक अहिले होसमा आएकी छन् र बोल्नसमेत थालेकी छन्।
आफ्नै सहपाठीको हत्या अभियोगमा दोषी ठहरिएकी पाइकलाई करिब एक साताअघि मृत्युदण्ड दिन दुईपटक विषालु इन्जेक्सन दिइएको थियो। तर दुवैपटक इन्जेक्सन दिइए पनि उनको मृत्यु नभएपछि चिकित्सकहरूले उनको उपचार सुरु गरेका थिए।
बीबीसीका अनुसार पाइक स्वयं पनि आफू जीवितै रहेको घटनाबाट अचम्मित छिन्। पाइकको कानुनी टोलीलाई सल्लाह दिँदै आएका एनेस्थेसियोलोजिस्ट डा. जोएल जिभोटले घातक इन्जेक्सन दिएपछि कैदी जीवितै बच्नु अत्यन्तै दुर्लभ हुने बताएका छन्।
“जुन मानिसहरूलाई यो ज्यानलिने इन्जेक्सन दिइन्छ, तीमध्ये अधिकांशको मृत्यु हुन्छ। वास्तवमा क्रिस्टालाई छाड्ने हो भने अहिलेसम्म प्रायः सबैको ज्यान गएको छ,” जिभोटले बीबीसीसँग भनेका छन्।
५० वर्षीया पाइकका वकिलहरूका अनुसार उनी अहिले पनि हत्कडीमा राखिएकी छन्। घातक इन्जेक्सन दिएपछि उनी बेहोस अवस्थामा पुगेकी थिइन्। यद्यपि उनको मुटुको धड्कन चलिरहेकै थियो र उनी बेहोसीकै अवस्थामा केही बर्बराइरहेकी थिइन्। अपेक्षित रूपमा उनको मृत्यु नभएपछि चिकित्सकहरूले उपचार सुरु गर्दै शरीरबाट औषधिको प्रभाव हटाउने प्रयास गरेका थिए।
फोर्डहम ल स्कुलकी क्रिमिनोलोजिस्ट तथा प्राध्यापक डेबोरा डेनोले यो घटना चिकित्सा विज्ञानको इतिहासमै असाधारण रहेको बताएकी छन्।
विशेषज्ञहरूका अनुसार पाइकको शरीरमा कति मात्रामा घातक औषधि ‘पेन्टोबार्बिटल’ पुगेको थियो र त्यसले भविष्यमा उनको स्वास्थ्यमा कस्तो असर पार्न सक्छ भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ। पेन्टोबार्बिटल अत्यधिक मात्रामा प्रयोग गरिएमा प्राणघातक हुन सक्छ।
यस घटनाले मृत्युदण्डमा प्रयोग हुने घातक इन्जेक्सनको प्रभावकारिता र चिकित्सकीय जोखिमबारे पुनः बहस निम्त्याएको छ। विशेषगरी औषधि नशामा सही रूपमा नपुगेमा वा अपेक्षित रूपमा काम नगरेमा मृत्युदण्डको प्रक्रिया कसरी लामो चिकित्सकीय आपत्कालमा परिणत हुन सक्छ भन्ने प्रश्न उठेको छ।
क्रिस्टा गेल पाइक अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्डको सजाय पर्खिरहेकी एक्ली महिला कैदी हुन्। सन् १९९५ मा १८ वर्षको उमेरमा उनले आफ्ना प्रेमी ट्याडारिल सिप र अर्की एक साथीसँग मिलेर ‘जोब कर्प्स’ कार्यक्रमकी सहपाठी १९ वर्षीया कलीन स्लेमरको हत्या गरेको अभियोगमा दोषी ठहर भएकी थिइन्।
अदालतका अभिलेखअनुसार स्लेमरलाई ईर्ष्याका कारण जंगलमा लगेर यातना दिइएको थियो। उनलाई चक्कुले काटिएको, शरीरमा पेन्टाग्रामको आकृति कोरिएको र टाउकोको हड्डीको टुक्रासमेत निकालिएको अभियोगमा पाइक दोषी ठहरिएकी थिइन्। सो घटनामा सन् १९९६ मा अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।