काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै दुग्ध विकास संस्थान (डीडीसी) ले थप १ हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा पठाएको छ। यसअघि परीक्षणका रूपमा निर्यात गरिएको १ हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि संस्थानले पुनः घिउसँगै याक चिज र पेडा निर्यात गरेको हो।
नेपालबाट पठाइएका दुग्धजन्य उत्पादन दुबईस्थित मातृभूमि जनरल ट्रेडिङ एलएलसीका सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसनमा रहेका तीन बिक्री केन्द्रबाट वितरण भइरहेका छन्।
विगत दुई वर्षदेखि नेपाली रैथाने उत्पादनलाई विदेशी बजारमा पुर्याउँदै आएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए। उनका अनुसार यसअघि निर्यात गरिएको घिउले राम्रो बजार पाएपछि मागअनुसार थप उत्पादन पठाइएको हो।
‘विगतमा पठाइएको घिउले राम्रो बजार पायो। माग बढेपछि अहिले १५० किलो याक चिज, पेडा र घिउ थपेका छौँ,’ घिमिरेले भने, ‘नेपाली उत्पादनलाई विदेशमा रहेका नेपालीसँगै अन्य उपभोक्तामाझ पुर्याएर बजार विस्तार गर्ने हाम्रो उद्देश्य हो। दुबईलाई प्रवेशद्वार बनाएर भविष्यमा यूएईबाहेक पश्चिम एसियाका अन्य बजारमा समेत नेपाली दुग्धजन्य उत्पादन विस्तार गर्ने लक्ष्य राखेका छौँ।’
डीडीसीले यसअघि जापानलगायतका देशमा घिउ निर्यात गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार डीडीसीले आफ्ना उत्पादनको अन्तर्राष्ट्रिय बजारमा सम्भावना परीक्षण गर्दै निर्यात विस्तार गर्ने योजना बनाएको छ।
पछिल्लो निर्यातबारे पाण्डेले सीमित परिमाणमा पठाइएका उत्पादनलाई यसअघि परीक्षणका रूपमा हेरिएको र पछिल्लो पटक घिउको परिमाण उल्लेख्य रूपमा बढाइएको बताए। यसले नेपाली दुग्धजन्य उत्पादनलाई नियमित रूपमा विदेशी बजारमा पुर्याउने सम्भावना बढाएको उनको भनाइ छ।
‘निर्यातलाई निरन्तरता दिने उद्देश्यले हामीले दूध सङ्कलन र उत्पादन विस्तारमा जोड दिएका छौँ,’ उनले भने।
विदेशी बजारका उपभोक्तालाई लक्षित गर्दै डीडीसीले यसपटक प्याकेजिङमा समेत परिवर्तन गरेको छ। दुबई पठाइएको घिउ सिसाका भाँडामा प्याक गरिएको छ भने उत्पादनसम्बन्धी जानकारी सहज बनाउन लेबलमा नेपाली र अंग्रेजीका साथै अरबी भाषा पनि समावेश गरिएको छ।
नेपाली दुग्धजन्य उत्पादनले दुबईमा सकारात्मक बजार प्रतिक्रिया पाएमा यसले डीडीसीको निर्यात विस्तारका साथै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।