वासिङ्टन डीसी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनाव जित्न व्यक्तिगत जीवनका संवेदनशील विषयलाई समेत राजनीतिक हतियार बनाउने गरेको आरोप लगाएका छन्। आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूको पक्षमा प्रचार गर्ने क्रममा ओबामाले ट्रम्प र रिपब्लिकन पार्टीको चर्को आलोचना गरेका हुन्।
शनिबार ओहायो र मिसिगनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओबामाले ट्रम्पको राजनीतिक शैली, व्यक्तिगत विषयमाथि गरिने प्रहार र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको व्यवहारमाथि प्रश्न उठाए।
ओहायोमा आयोजित सभामा उनले रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीको विवादास्पद चुनावी विज्ञापनको विशेष आलोचना गरे। उक्त विज्ञापनमा ओहायोकी पूर्वस्वास्थ्य निर्देशक एमी एक्टनकी आमालाई प्रस्तुत गर्दै एक्टनको व्यक्तिगत जीवन र विगतका अनुभवमाथि प्रश्न उठाइएको थियो।
कोभिड–१९ महामारीका बेला स्वास्थ्य निर्देशक रहेकी एक्टनले बाल्यकालमा पारिवारिक दुर्व्यवहार भोगेको र घरबारविहीन हुनुपरेको अनुभव सार्वजनिक गरेकी थिइन्। तर, राजनीतिक विज्ञापनमा उनकी आमालाई प्रस्तुत गर्दै एक्टनका दाबीमाथि प्रश्न उठाइएको थियो। उनको मानसिक स्वास्थ्यलाई समेत विवादमा तानिएको थियो।
ओबामाले उक्त विज्ञापनलाई अमेरिकी राजनीतिमा नैतिक सीमाको उल्लङ्घन भएको उदाहरणका रूपमा प्रस्तुत गरे। ट्रम्पप्रति लक्षित गर्दै उनले भने, “उनले पार नगर्ने कुनै हद छैन र झर्न नसक्ने कुनै तल्लो स्तर छैन।”
एमी एक्टनले पनि विज्ञापनप्रति असन्तुष्टि जनाउँदै राजनीतिमा शिष्टता र नैतिकताको महत्त्व कायम रहनुपर्ने बताएकी छन्। अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार एक्टनका सौतेनी बुबामाथि बलात्कारको गम्भीर आरोप लागेको थियो र उनी अदालतमा उपस्थित नभई फरार भएका थिए। एक्टनकी आमाले भने सन् २००४ मा उनको मृत्यु नहुँदासम्म उनीसँग वैवाहिक सम्बन्ध कायम राखेकी थिइन्।
ओबामाले ट्रम्पको नेतृत्वमा अमेरिकी राजनीतिक मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनेको आरोप लगाउँदै मतदातालाई त्यसविरुद्ध एकजुट हुन आह्वान गरे। उनले ट्रम्प प्रशासनमाथि भ्रष्टाचार, महँगी नियन्त्रण गर्न असफल भएको र शक्तिको दुरुपयोग गरेको आरोपसमेत लगाए।
“दुई वर्षको अराजकता, क्रूरता, भ्रष्टाचार र अयोग्यतापछि अब ‘पुग्यो’ भन्ने बेला आएको छ,” ओबामाले भने। उनले ट्रम्पका गतिविधिमाथि प्रश्न नउठाएको भन्दै रिपब्लिकन सांसद तथा राज्य तहका नेताहरूको पनि आलोचना गरे।
यसैबीच, मिसिगनमा आयोजित अर्को चुनावी सभामा ओबामाले डेमोक्रेटिक उम्मेदवार अब्दुल एल–सयदको समर्थनमा भाषण गरे। उनले एल–सयदलाई मिसिगनको प्रतिनिधित्व गर्न योग्य उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आफ्नो राजनीतिक अनुभवसमेत सुनाए।
यद्यपि, एल–सयदले सन् २०१२ मा पुनःनिर्वाचित भएपछि ओबामा आफ्ना प्रगतिशील वाचा पूरा गर्न असफल भएको भन्दै विगतमा आलोचना गरेका थिए। अहिले भने मिसिगनमा डेमोक्रेटिक पार्टीले अश्वेत मतदाताको समर्थन कायम राख्न ओबामाको लोकप्रियतामाथि भरोसा गरेको छ। यसअघि गत सेप्टेम्बरमा उपराष्ट्रपति कमला ह्यारिसले पनि एल–सयदको समर्थनमा चुनावी सभालाई सम्बोधन गरेकी थिइन्।
अर्कोतर्फ, ट्रम्पले शनिबार फ्लोरिडामा मतदान गरेपछि रामास्वामीको विवादास्पद विज्ञापनको बचाउ गरेका छन्। उनले मिसिगनमा ओबामाले सम्बोधन गरेको चुनावी सभामा मानिसहरूको उपस्थिति न्यून रहेको दाबी गर्दै पूर्वराष्ट्रपतिको आलोचनालाई खारेज गरेका छन्।
मध्यावधि निर्वाचनको प्रचार अभियानलाई तीव्र बनाउने क्रममा ओबामा आगामी साता जर्जिया जाने कार्यक्रम छ। त्यहाँ उनले डेमोक्रेटिक उम्मेदवार जोन ओसफ र किसा लान्स बटम्सको समर्थनमा आयोजना हुने चुनावी सभाहरूमा सहभागी हुनेछन्।