काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानी मृत्युदण्ड दिइने निदाल हसनको सजाय प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। उनले रक्षामन्त्री पीट हेगसेथको विवादास्पद योजना रद्द गरेका हुन्।
हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनाको अमेरिका तथा विदेशमा व्यापक विरोध भएको थियो। अमेरिकी डेमोक्रेटिक र रिपब्लिकन राजनीतिज्ञ, क्याथोलिक चर्च, मानवअधिकार समूह र संयुक्त राष्ट्रसङ्घले समेत यसप्रति असन्तुष्टि जनाएका थिए।
यो निर्णय रक्षामन्त्री हेगसेथका लागि ठूलो झट्काका रूपमा हेरिएको छ। उनी इरान युद्धमा उत्पन्न गतिरोध र त्यसका असरका कारण पनि आलोचनामा पर्दै आएका छन्। यसले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको सम्भावनामा असर पार्न सक्ने आकलन गरिएको छ।
ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै हसनलाई निर्धारित समयमै फायरिङ स्क्वाडमार्फत मृत्युदण्ड दिइने तर त्यसको प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्।
यद्यपि, उनले मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनाको व्यक्तिगत रूपमा विरोध नगरेको सङ्केत गरेका छन्। ट्रम्पका अनुसार यस्तो प्रसारणले अमेरिका आतङ्कवादी र हसनजस्ता व्यक्तिसँग कसरी व्यवहार गर्छ भन्ने संसारलाई देखाउन सक्थ्यो।
उनले धेरै राम्रा र असल नियत भएका मानिस हसनको मृत्युदण्ड हेर्न नचाहने उल्लेख गर्दै पीडितका नजिकका परिवारका सदस्यले भने प्रत्यक्ष रूपमा मृत्युदण्ड हेर्न सक्ने बताएका छन्।
सन् २००९ मा टेक्सासस्थित फोर्ट हुड सैन्य आधारमा १३ जनाको गोली हानी हत्या गरेको घटनामा दोषी ठहरिएका हसनको मृत्युदण्ड डिसेम्बर ३ का लागि निर्धारित छ। उक्त सजाय कार्यान्वयन भएमा सन् १९४५ पछि अमेरिकी सेनामा फायरिङ स्क्वाडमार्फत दिइने पहिलो मृत्युदण्ड हुनेछ।
रक्षामन्त्री हेगसेथले गत साता मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजना रहेको पुष्टि गर्दै सर्वसाधारणले समेत हेर्न सक्ने व्यवस्था गरिने बताएका थिए।