मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न छिटो र सहज सम्झौता गर्न सकिने विश्वास राखे पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको रणनीति र अडानका कारण अमेरिकी प्रयासले अपेक्षित परिणाम दिन सकेको छैन । युद्ध अन्त्य भए प्रतिबन्धहरू हट्न सक्ने र रुस–अमेरिकाबीच आकर्षक व्यापारिक सम्झौता हुन सक्ने ट्रम्पको अपेक्षा छ । तर, पुटिनले आफ्ना युद्धका लक्ष्यमा सम्झौता गर्ने तत्परता देखाएका छैनन् ।
पाँचौँ वर्षमा प्रवेश गरेको युक्रेन युद्धमा हरेक महिना हजारौँ सैनिकको ज्यान गइरहेको छ । युद्ध अन्त्य भए मानवीय क्षति रोक्नुका साथै आर्थिक लाभसमेत हासिल गर्न सकिने भए पनि क्रेमलिनले आफ्नो रणनीतिक उद्देश्यलाई प्राथमिकता दिएको विश्लेषण गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ र पुटिनबीच सेन्ट पिटर्सबर्गमा भएको पछिल्लो महत्त्वपूर्ण बैठकले पनि दुई पक्षबीचको दृष्टिकोणमा रहेको भिन्नता उजागर गरेको छ ।
बैठकका क्रममा पुटिनले नर्वेमा अमेरिका, युरोपेली मुलुक र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का अधिकारीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको छलफलको नतिजाबारे चासो व्यक्त गरेका थिए । उक्त छलफलमा मस्कोलाई आर्थिक प्रोत्साहनसमेत दिएर शान्ति सम्झौताका लागि तयार पार्ने प्रस्तावमाथि विचार गरिएको थियो ।
तर, क्रेमलिनका एक वरिष्ठ सल्लाहकारले विटकफले ती प्रस्तावबारे जानकारी गराएपछि युक्रेन सङ्कट समाधानका लागि तिनमा उपयोगी भन्न लायक खासै केही नरहेको प्रतिक्रिया दिएका थिए ।
पूर्वी युक्रेनको सम्पूर्ण डोनबास क्षेत्रमाथि नियन्त्रण कायम गर्ने र किभको भावी सुरक्षा व्यवस्थामा प्रभाव राख्ने आफ्नो अडानबाट रुस पछि हट्न तयार नभएकाले यस्तो प्रतिक्रिया अपेक्षित रहेको विश्लेषण गरिएको छ ।
आर्थिक प्रलोभनमार्फत रुसलाई मनाउने अमेरिकी प्रयास
गत साता ट्रम्पले रुसी डिजेल निर्यातमाथिको प्रतिबन्ध हटाएपछि ह्वाइट हाउसले मस्कोले शान्ति सम्झौताका लागि थप लचकता देखाउने अपेक्षा गरेको हुन सक्ने विश्लेषण गरिएको छ । अमेरिकामा मध्यावधि निर्वाचनअघि इन्धनको मूल्य घटाउने उद्देश्यसमेत रहेको उक्त कदमले रुसलाई आर्थिक राहत दिएको थियो ।
त्यसपछि ट्रम्पले ऊर्जा क्षेत्रमा युद्धविराम गर्न आह्वान गरेका थिए । उक्त प्रस्तावले युक्रेनलाई रुसी तेल प्रशोधन केन्द्रमा क्षति पुर्याउने ड्रोन आक्रमण रोक्न बाध्य पार्ने अपेक्षा गरिएको थियो ।
यसैबीच, अमेरिकी गुप्तचर सूचना आदानप्रदान प्रभावित भएको भन्ने आरोप–प्रत्यारोपका बीच ट्रम्पले युक्रेनी नेतृत्व परिवर्तनको मागसमेत गरेका थिए । यी घटनाक्रमले क्रेमलिनलाई अनुकूल वातावरण सिर्जना गरेको विश्लेषण गरिएको छ ।
तर, रुसका लागि आर्थिक सम्झौता र अमेरिकासँगको सम्बन्ध सुधार युद्धका लक्ष्यबाट पछि हट्ने कारण बनेका छैनन् । बरु, ट्रम्पलाई आर्थिक लाभका सम्भावना देखाएर आफ्नो पक्षमा राख्न सकिने विश्वास पुटिनले लिएको विश्लेषण गरिएको छ ।
मल निर्यातदेखि ऊर्जा सहकार्यासम्मको प्रस्ताव
सेन्ट पिटर्सबर्गमा विटकफसँग भएको बैठकमा पुटिनले डिजेलसम्बन्धी निर्णयको प्रशंसा गर्दै रुसले अमेरिकामा रासायनिक मलको निर्यात बढाउन सक्ने प्रस्ताव राखेका थिए । त्यसबाहेक विभिन्न आर्थिक तथा ऊर्जा आयोजनामा सहकार्य गर्न सकिने सङ्केत पनि दिएका थिए ।
तीन घण्टा लामो बैठकपछि रुसी सार्वभौम सम्पत्ति कोषका प्रमुख तथा अमेरिकी अधिकारीहरूसँग क्रेमलिनका मुख्य मध्यस्थकर्ता किरिल दिमित्रिभले डेटा सेन्टर, ऊर्जा र ऊर्जा सहकार्यासम्बन्धी विभिन्न आयोजनाबारे छलफल भइरहेको बताएका थिए ।
अमेरिकी नागरिकको रिहाइलाई ट्रम्पको उपलब्धिका रूपमा प्रस्तुत
क्रेमलिनले अमेरिकालाई आफ्नो पक्षमा राख्न आर्थिक प्रस्ताव मात्र अघि सारेको छैन । सेन्ट पिटर्सबर्ग बैठकअघि पुटिनले सन् २०२२ मा युक्रेनमा पक्राउ परेका ७४ वर्षीय अमेरिकी नागरिक स्टिफन हबार्डलाई रिहा गरेका थिए । ट्रम्पका दूत विटकफले उक्त कदमलाई पुटिनको मानवीय कार्यका रूपमा प्रस्तुत गरेका थिए ।
मिसिगनका हबार्डले रुसी कारागारमा करिब चार वर्षको कैदका क्रममा गम्भीर स्वास्थ्य समस्या भोगेको बताइएको छ । उनको रिहाइलाई ह्वाइट हाउसले ट्रम्पको वार्ता क्षमताको सफलता र पुटिनले अमेरिकी राष्ट्रपतिलाई दिएको सम्मानका रूपमा प्रचार गरेको थियो ।
ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको थियो, “राष्ट्रपति ट्रम्पप्रतिको सम्मानका कारण संयुक्त राज्य अमेरिकाले बदलामा केही पनि दिनु परेन—यो रुसका लागि अभूतपूर्व स्थिति हो ।”
यद्यपि, रुसका पूर्व केजीबी अधिकारीसमेत रहेका पुटिनले उक्त घटनालाई अमेरिकी प्रशासनले प्रस्तुत गरेकै रूपमा लिएका छन् भन्नेमा विश्लेषकहरूले प्रश्न उठाएका छन् ।
स्रोत: सीएनएन