काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नवनियुक्त प्रेस सचिव क्याटी जकारियाको कानुनी योग्यतालाई लिएर विवाद उत्पन्न भएको छ। ट्रम्पले नियुक्तिका क्रममा उनलाई अधिवक्ताका रूपमा परिचय गराएका थिए भने जकारियाले पनि आफूलाई कानुन व्यवसायीका रूपमा प्रस्तुत गर्दै आएकी छन्।
मङ्गलबार एक पत्रकारले अमेरिकाको कुन राज्यको बार परीक्षा उत्तीर्ण गरेको भनी प्रश्न गरेपछि उनको कानुनी योग्यताबारे बहस सुरु भएको हो। जवाफमा जकारियाले ‘जब म चीन गएकी थिएँ’ भनेकी थिइन्। पछि उनले प्रश्न स्पष्ट नसुनेका कारण त्यस्तो जवाफ दिएको स्पष्टीकरण दिइन्।
जकारियाले सन् २०११ मा क्यालिफोर्नियास्थित पेपरडाइन विश्वविद्यालयबाट कानुनको अध्ययन पूरा गरेकी हुन्। तर अमेरिकामा कानुनको डिग्री हासिल गर्दैमा स्वतः वकालत गर्ने अनुमति प्राप्त हुँदैन। ‘वाल स्ट्रिट जर्नल’ का अनुसार उनले क्यालिफोर्निया बार परीक्षा दिए पनि उत्तीर्ण हुन सकेकी थिइनन्।
जकारियाले भने आफूले चीनमा अन्तर्राष्ट्रिय कारोबार कानुनसम्बन्धी काम गरेको र त्यसका लागि आवश्यक सबै योग्यता आफूसँग रहेको दाबी गरेकी छन्। उनको लिङ्क्डइन प्रोफाइलअनुसार उनी सन् २०११ देखि २०१३ सम्म बेइजिङस्थित एक कानुनी फर्ममा एसोसिएटका रूपमा कार्यरत थिइन्।
चीनमा विदेशी नागरिकलाई वकालत गर्ने अनुमतिपत्र नदिइने भए पनि उनीहरूले कानुनी फर्ममा अन्य भूमिकामा रहेर काम गर्न सक्छन्।
यसैबीच, बुधबार ‘क्याम्पियन फर एकाउन्टबिलिटी’ नामक निगरानी संस्थाले क्यालिफोर्निया स्टेट बारमा उजुरी दर्ता गराउँदै जकारियाको कानुनी योग्यताबारे छानबिन गर्न माग गरेको छ। संस्थाले उनले अनुमतिपत्रबिना नै वकालत गर्न योग्य रहेको दाबी गरेको हुन सक्ने आरोप लगाएको छ।
जकारियाले ‘न्युयोर्क टाइम्स’सँग कुरा गर्दै टेलिभिजनमा प्रस्तुत हुन थालेपछि आफ्नो परिचय कसरी दिने भन्ने विषयमा पेपरडाइन विश्वविद्यालयसँग परामर्श लिएको बताएकी छन्। उनका अनुसार विश्वविद्यालयका अध्यक्षले आफूलाई ‘लयर’ भन्न सकिने तर ‘अटोर्नी’ भन्न नमिल्ने सुझाव दिएका थिए।
ह्वाइट हाउसले भने जकारियाको बचाउ गरेको छ। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चिउङले उनलाई ‘अत्यन्त योग्य र प्रखर’ व्यक्तित्वका रूपमा चित्रण गरेका छन्।
जकारियाले चीनमा काम गर्ने क्रममा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र विश्व बैंकका लागि बाह्य कानुनी सल्लाहकारका रूपमा समेत काम गरेको दाबी गरेकी छन्। बीबीसीले उक्त दाबीबारे प्रतिक्रिया लिन ती संस्था र चिनियाँ कानुनी फर्मसँग सम्पर्क गरेको जनाएको छ।