काठमाडौँ । जनवादी गणतन्त्र चीनको साहित्यिक तथा सांस्कृतिक टोली काठमाडौं आइपुगेको छ। लु छुन कल्चरल फाउन्डेसनका अध्यक्ष झाउ लिङफेईको नेतृत्वमा आएको टोलीलाई एसएस फाउन्डेसनले विशेष समारोह आयोजना गरी स्वागत तथा सम्मान गरेको छ।
समारोहमा एसएस फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष मदनदास श्रेष्ठले चिनियाँ सर्जकहरूको भ्रमणले नेपाल र चीनबीचको साहित्य, संस्कृति तथा सभ्यतागत सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनीहरूले नेपालको कला तथा संस्कृतिबारे चर्चा गर्दै दुवै देशबीच यस क्षेत्रमा आपसी सहकार्य र सहयोगको आवश्यकता बढ्दै गएको धारणा राखे।
कार्यक्रममा नेपाली मौलिक पहिचान झल्काउने कौडा, हुड्क्यौली तथा नेवारी गीतसंगीत प्रस्तुत गरिएको थियो। सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली कला र परम्पराको झलकसमेत चिनियाँ पाहुनामाझ प्रस्तुत गरिएको थियो।
यसैगरी, चिनियाँ टोलीले पाटन दरबार क्षेत्रलगायत काठमाडौं उपत्यकाका विभिन्न ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरूको अवलोकनसमेत गरेको थियो।