काठमाडौँ। चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो कागजी कार्टन अमेरिकामा चिनियाँ खानाको पर्याय बनेको छ। एउटै टुक्रा कागजलाई विशेष तरिकाले मोडेर बनाइने यो बाकसको इतिहास अमेरिकी आविष्कार, चिनियाँ आप्रवासन र खानपान संस्कृतिसँग जोडिएको छ।
यसको सुरुवात सन् १८९४ मा भएको थियो। आविष्कारक फ्रेडरिक वीक्स विल्कोक्सले माछा मार्दा सीप (ओइस्टर) बोक्न प्रयोग गरिने कागजी बाल्टिनको पेटेन्ट लिएका थिए। कागजलाई विशेष तरिकाले मोडेर बनाइने उक्त बाकसमा खाना राख्न र ढक्कन लगाउन सजिलो हुनुका साथै खाना बाहिर नचुहिने सुविधा थियो।
सन् १८०० को मध्यतिर सुनको खोजी र रेलमार्ग निर्माणका लागि चिनियाँ आप्रवासीहरू अमेरिका पुगेका थिए। उनीहरूले बसोबास गरेका सान फ्रान्सिस्कोलगायत सहरमा विकसित चाइनाटाउनका रेस्टुरेन्टहरूले चिनियाँ खानाको अमेरिकी शैली स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेले।
नर्थ क्यारोलाइना विश्वविद्यालयकी चिनियाँ इतिहासकी प्राध्यापक मिशेल किङका अनुसार दोस्रो विश्वयुद्धपछि अमेरिकामा चिनियाँ रेस्टुरेन्ट र परिकारको विविधता उल्लेखनीय रूपमा बढ्यो। चिनियाँ खानाको सस्तो मूल्य, सहज उपलब्धता र घर लैजान मिल्ने सुविधाले यसको लोकप्रियता थप बढाएको उनले बताएकी छन्।
सन् १९७० को दशकतिर ‘फोल्ड–पाक’ नामक प्याकेजिङ कम्पनीले यस कार्टनमा चिनियाँ शैलीको प्यागोडाको चित्र थप्यो। त्यसपछि यो बाकस चिनियाँ खानासँग जोडिएको विशिष्ट पहिचानका रूपमा स्थापित हुन थाल्यो।
प्राध्यापक किङले यसलाई इटालियन खानासँग जोडिने पिज्जा बक्ससँग तुलना गर्दै यस्तो प्याकेजिङले चिनियाँ–अमेरिकी खानाको छुट्टै छवि निर्माण गर्न मद्दत गरेको बताएकी छन्।
अहिले यस्ता कार्टन विभिन्न आकारमा उपलब्ध छन् भने तिनमा राखिने परिकारको दायरा पनि फराकिलो बनेको छ। खाना प्याक गर्ने साधनमा मात्र सीमित नरहेको यसको पहिचान मोबाइल फोनमा ‘टेकआउट’ जनाउने इमोजीसम्म पुगेको छ।
एउटा सामान्य कागजी बाकसको यात्रा यसरी अमेरिकी आविष्कारबाट सुरु भएर चिनियाँ–अमेरिकी खानाको सांस्कृतिक प्रतीकसम्म आइपुगेको छ।