एजेन्सी । चीनमा अक्टोबर महिनालाई विवाहको उपयुक्त मौसमका रूपमा लिइन्छ। विशेषगरी दक्षिणपश्चिम चीनको युनान प्रान्तस्थित लिजियाङको युलोङ स्नो माउन्टेन (जेड ड्रागन स्नो माउन्टेन) क्षेत्रमा विवाह गर्ने जोडीहरूको आकर्षण बढ्दै गएको छ।
कम खर्चमा विवाह गर्न सकिने भएकाले यो क्षेत्र चीनमा तीव्र रूपमा विस्तार भइरहेको गन्तव्य विवाह उद्योगको प्रमुख आकर्षण बन्दै गएको हो।
होटलमा भोज आयोजना गर्ने, सजावट गर्ने र व्यापक तयारी गर्नुपर्ने परम्परागत विवाहभन्दा फरक गन्तव्य विवाहमा सीमित व्यक्तिको सहभागिता, आत्मीय समारोह, विवाहका तस्बिर खिच्ने कार्यक्रम र छोटो हनिमुन समावेश हुन्छन्। यस्तो विवाहको कुल खर्च परम्परागत विवाहको तुलनामा कम हुने गर्छ।
बेहुली याङका अनुसार, उक्त क्षेत्रमा विवाहसम्बन्धी सेवाहरू व्यवस्थित र विकसित छन्। उनले भनिन्, “यहाँ विवाहसम्बन्धी सेवाहरूको सम्पूर्ण प्रणाली निकै व्यवस्थित र विकसित छ। हाम्रो समग्र अनुभव सहज र वास्तवमै उत्कृष्ट रह्यो।”
चीनमा देशको जुनसुकै स्थानमा गएर विवाह दर्ता गर्न पाउने नीति लागू भएपछि पनि गन्तव्य विवाहको लोकप्रियता बढेको छ।
लिजियाङ गान्जिगानबान वेडिङ फोटोग्राफी कम्पनी लिमिटेडका उपमहाप्रबन्धक याङ होङग्वाङका अनुसार, युलोङ स्नो माउन्टेनको पर्यटकीय क्षेत्रमा हरेक दिन औसतमा करिब २०० जोडी विवाहका तस्बिर खिचाउन पुग्छन्। तीमध्ये करिब ९० प्रतिशत ग्राहक अन्य प्रान्तबाट आउने गरेका छन्।
उनले यस वर्षको सुरुदेखि नै दक्षिणपूर्वी एसियाली मुलुकबाट आउने ग्राहकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताए। विशेषगरी सिङ्गापुर, इन्डोनेसिया र भियतनामबाट विवाहका तस्बिर खिचाउन आउने ग्राहक बढेका छन्।
उपलब्ध तथ्याङ्कअनुसार, लिजियाङमा विवाहको फोटोग्राफी तथा गन्तव्य विवाहसम्बन्धी सेवा प्रदान गर्ने कम्तीमा एक हजार व्यवसाय सञ्चालनमा छन्। यसले उक्त क्षेत्रलाई चीनको गन्तव्य विवाह पर्यटनको आकर्षक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ।