चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी

चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी

काठमाडौं । बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ। भारतको मौसम विभागका अनुसार चक्रवात अक्टोबर २७ सम्म शक्तिशाली आँधीमा परिणत हुन सक्नेछ। अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटमा ठोक्किने अनुमान गरिएको छ। त्यस क्रममा हावाको गति प्रतिघण्टा १२५ किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ।

चक्रवातबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न आन्ध्र प्रदेशका जोखिमयुक्त क्षेत्रका करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। मौसम विभागले राज्यका विभिन्न तटीय जिल्लामा भारी वर्षा हुने चेतावनी दिएको छ। माछा मार्न समुद्रमा गएका तथा जाने तयारीमा रहेका मछुवालाई अक्टोबर २९ सम्म समुद्रमा नजान आग्रह गरिएको छ।

आन्ध्र प्रदेशसँग सीमा जोडिएको ओडिशामा पनि चक्रवातको प्रभाव पर्ने अनुमान गरिएको छ। सम्भावित जोखिम व्यवस्थापन, उद्धार तथा राहत कार्यका लागि ओडिशा विपद् द्रुत प्रतिकार्य बलका ६० टोली परिचालन गरिने भएको छ। चक्रवातको जोखिमलाई ध्यानमा राख्दै राज्यका छ जिल्लामा अक्टोबर २८ र २९ गते विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरिएको छ।

यसैबीच, तमिलनाडुमा पछिल्ला तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। मौसम विभागले अक्टोबर २७ मा आन्ध्र प्रदेशका लागि भारी वर्षाको रातो चेतावनी र ओडिशाका लागि सुन्तला चेतावनी जारी गरेको छ। छत्तीसगढ, तेलङ्गाना, तमिलनाडु, पुडुचेरी, केरल, कर्नाटक र रायलसीमामा वर्षाको पहेँलो चेतावनी दिइएको छ।

त्यस्तै, अक्टोबर २८ मा आन्ध्र प्रदेश, छत्तीसगढ, तेलङ्गाना र ओडिशामा भारी वर्षाको रातो चेतावनी जारी गरिएको छ। झारखण्डमा सुन्तला तथा पश्चिम बंगालसहित विभिन्न क्षेत्रमा पहेँलो चेतावनी दिइएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!