गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट ३४० भन्दा बढी बालबालिकाको मृत्यु

गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट ३४० भन्दा बढी बालबालिकाको मृत्यु

गाजा । अक्टोबर २०२५ मा युद्धविराम सम्झौता लागू भएयता पनि गाजामा इजरायली आक्रमणका कारण ३४० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ। सोही अवधिमा सयौँ बालबालिका घाइते भएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले गाजा क्षेत्रमा नाकाबन्दी जारी रहँदा प्यालेस्टिनीमाथि आक्रमण भइरहेको बताए। उनका अनुसार पछिल्लो दुई सातामा भएका आक्रमणमा पाँच बालक र दुई बालिकाको मृत्यु भएको छ। त्यस्तै, कम्तीमा ३३ जना बालबालिका गम्भीर घाइते भएका छन्।

पिरेसका अनुसार गाजामा करिब आठ लाख बालबालिका अझै विस्थापित अवस्थामा छन्। उनीहरूमध्ये अधिकांश त्रिपाल तथा असुरक्षित भवनमा आश्रय लिन बाध्य भएका छन्। पर्याप्त सुरक्षित आवासको अभावमा बालबालिकाको जीवन थप जोखिमपूर्ण बन्दै गएको उनले बताए।

आउँदो जाडो याममा गाजाको मानवीय अवस्था अझै बिग्रन सक्ने चेतावनी दिँदै पिरेसले लगातार चौथो वर्ष पनि प्यालेस्टिनी बालबालिकाले अमानवीय र बस्न अयोग्य परिस्थितिको सामना गर्नुपर्ने जोखिम रहेको उल्लेख गरे।

युद्धविराम लागू भए पनि बालबालिकाको ज्यान जाने क्रम नरोकिएको र ठूलो सङ्ख्यामा बालबालिका विस्थापित अवस्थामा रहनुपरेको घटनाले गाजामा मानवीय सङ्कट अझै गम्भीर रहेको देखाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!