काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। उक्त परियोजनाले स्थानीय समुदायलाई स्वच्छ खानेपानी उपलब्ध गराउनुका साथै गुगलले निर्माण गर्ने योजनामा रहेको डाटा सेन्टर सञ्चालनमा समेत सहयोग पुर्याउनेछ।
गुगलका अनुसार परियोजनाअन्तर्गत निर्माण हुने प्रशोधन केन्द्रले दैनिक ६ करोड ५० लाख लिटर प्रशोधित पिउने पानी आपूर्ति गर्न सक्नेछ। यसबाट सर्वसाधारणका लागि खानेपानीको उपलब्धता बढ्नुका साथै स्प्रिङहिल औद्योगिक पार्कमा प्रस्तावित गुगलको डाटा सेन्टर परिसरमा समेत पानी आपूर्ति हुनेछ।
पोर्ट डिक्सन क्षेत्रमा निर्माण गर्ने योजना रहेको डाटा सेन्टरलाई आवश्यक पानी व्यवस्थापनका लागि यो पूर्वाधार महत्त्वपूर्ण हुने कम्पनीको अपेक्षा छ।
गुगलले स्वच्छ ऊर्जा क्षेत्रका लागि स्थानीय दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले नयाँ कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ। यस कार्यक्रममार्फत मलेसियामा स्वच्छ ऊर्जा तथा सम्बन्धित क्षेत्रमा आवश्यक सीप र दक्षता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निर्माण सम्पन्न भएपछि पानी प्रशोधन तथा आपूर्ति पूर्वाधारको स्वामित्व मेन्टेरी बेसर नेगेरी सेम्बिलान (निगमित) सँग रहनेछ। यो राज्यको सरकारी सम्पत्तिको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको वैधानिक निकाय हो।
यस परियोजनाले एकातिर स्थानीय समुदायको खानेपानी पहुँच विस्तार गर्ने र अर्कोतिर मलेसियामा गुगलको डिजिटल पूर्वाधार विस्तारलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।