कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले कृषि उत्पादनको लागत घटाउन आधुनिक यन्त्र तथा उपकरणको प्रयोगमा जोड दिएको छ।

गण्डकी प्रदेशका ११ जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको केन्द्रले पहिलो पटक धान काट्ने अत्याधुनिक रीपर मेसिनको प्रयोग थालेको हो। पछिल्लो समय कृषि उत्पादनको लागत बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्न आधुनिक प्रविधि भित्र्याइएको कार्यालय प्रमुख सुदीप रेग्मीले बताए।

“हामीले उत्पादन गर्ने कृषि उपजको लागत मूल्य ह्वात्तै बढेर गएको छ”, उनले भने, “लागत मूल्य कम गर्न सकेको खण्डमा कृषक तथा उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्छ।”

केन्द्रले उन्नत जातका धान, गहुँ, कोदो तथा तरकारीजन्य बालीका बीउ उत्पादन गर्दै आएको छ। बीउ उत्पादनका लागि खेतबारीमा काम गर्ने श्रमिक पाउन कठिन हुँदै गएको र ज्यालामा समेत खर्च बढेकाले आधुनिक उपकरणको प्रयोगमा जोड दिइएको रेग्मीले बताए।

उनका अनुसार हालै प्रयोगमा ल्याइएको रीपर मेसिनले छोटो समयमै धेरै क्षेत्रफलको धान काट्न सक्छ। उक्त मेसिनले १० देखि १५ मिनेटमा तीन रोपनी क्षेत्रफलको धान काट्न सक्ने भएकाले समय र श्रम दुवैको बचत हुने उनको भनाइ छ।

“कामदार लगाएर उत्पादन गर्दा लागत धेरै बढ्ने भएकाले आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएका छौँ”, उनले भने, “रीपर मेसिनको प्रयोगले दिनभरि लाग्ने धान काट्ने कामलाई केही घण्टामै सम्पन्न गर्न सकिन्छ।”

मेसिनको प्रयोगबाट धान काट्न श्रमिक नपाउने समस्या कम हुनुका साथै उत्पादन लागत झन्डै ५० प्रतिशतसम्म घट्न सक्ने कार्यालयको अपेक्षा छ।

रीपर मेसिनले धानलाई एकनासले काटेर व्यवस्थित रूपमा राख्ने भएकाले पराल उठाउन र धानका बिटा बाँध्नसमेत सहज हुने बताइएको छ। व्यावसायिक रूपमा खेती गर्दै आएका कृषक समूह, सहकारी तथा कृषि फार्मका लागि यस्तो प्रविधि थप उपयोगी हुने रेग्मीले बताए।

केन्द्रले कार्यालय परिसरको २२ रोपनी र वालिङ नगरपालिका–१ बगुवाको ८३ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा धानको बीउ उत्पादन गर्दै आएको छ। केन्द्रले रामधान, हर्दिनाथलगायत उन्नत जातका धानका बीउ उत्पादन गरी आवश्यक प्रक्रिया पूरा गरेर बिक्रीवितरण गर्दै आएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!