क्यानडाको सैन्य तालिम केन्द्रमा भीषण आगलागी, चार सैनिकको मृत्यु, ३९ घाइते

क्यानडाको सैन्य तालिम केन्द्रमा भीषण आगलागी, चार सैनिकको मृत्यु, ३९ घाइते

काठमाडौं । क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य तालिम केन्द्रमा भएको भीषण आगलागीमा परी चार सैनिकको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। घाइतेमध्ये कम्तीमा १९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।

प्रधानमन्त्री मार्क कार्नीले आइतबार ओटावाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै घटनालाई शान्तिकालमा क्यानडाको भूमिमा सैन्य बलले भोग्नुपरेका सबैभन्दा ठूला त्रासदीमध्ये एक भएको बताएका छन्।

देशका व्यस्त सैन्य तालिम केन्द्रमध्ये एक ‘क्यानडियन फोर्सेस बेस वेनराइट’ मा शनिबार स्थानीय समयअनुसार अपराह्न करिब ४ बजे आगलागी सुरु भएको थियो। आगलागी अहिले नियन्त्रणमा लिइसकिएको छ। घटनाको कारण खुल्न सकेको छैन। यद्यपि, अधिकारीहरूले यसको सम्बन्ध आतङ्कवादी गतिविधिसँग नरहेको बताएका छन्।

“हामीले गुमाएका सशस्त्र बलका ती साहसी सदस्यहरूको निधनमा सिङ्गो देश शोकमा छ,” प्रधानमन्त्री कार्नीले भने।

मृत्यु हुने सैनिकमा सर्जेन्ट मोर्गन वोङ, प्राइभेट सोन फारेल, प्राइभेट एडन गुल्डिङ र प्राइभेट हेडेन लिक्केमार्क रहेको पुष्टि गरिएको छ।

अल्बर्टाकी प्रिमियर डेनियल स्मिथले आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा उपचाररत ३९ घाइतेमध्ये कम्तीमा १९ जनाको अवस्था गम्भीर रहेको जानकारी दिइन्। आगो पुनः सल्किन नदिन दमकल तथा उद्धार टोली घटनास्थलमै परिचालन गरिएको वेनराइटका मेयर ब्रुस प्युले बताए।

मेजर जनरल वेड रुटल्याण्डका अनुसार आगलागी हुँदा पैदल सेनाका सदस्यहरू ग्रेनेड रेन्ज र अट्याक रेन्जमा वास्तविक हतियार प्रयोग गरी उच्च तीव्रताको युद्ध अभ्यास गरिरहेका थिए। उक्त अभ्यासमा १० जना सैनिकले काल्पनिक शत्रुमाथि आक्रमण गर्ने तालिम लिइरहेका थिए।

तालिम क्षेत्रमा ग्रेनेड लन्चर, ग्रेनेड, साना हतियार र गोलाबारुदसहित विभिन्न सैन्य सामग्री प्रयोग भइरहेका थिए। तालिम क्षेत्रबाट करिब एक किलोमिटर टाढा घाँसमा सल्किएको आगो तीव्र गतिमा अट्याक रेन्जतर्फ फैलिएको थियो।

“तालिम क्षेत्रभरि एकै समयमा विभिन्न गतिविधि सञ्चालन भइरहेका थिए,” रुटल्याण्डले भने, “असामान्य रूपमा चलेको तीव्र हावाका कारण आगो तीव्र गतिमा फैलियो र तालिम क्षेत्रको प्रशासनिक भागतर्फ मोडियो।”

मेयर प्युका अनुसार शनिबार आगलागी हुनुअघि सैन्य बेसबाट तोप चलेको आवाज सुनिएको थियो, जुन पछि अचानक रोकिएको थियो। घटनापछि स्थानीय आपत्कालीन सेवाहरूलाई पूर्ण सतर्कताका साथ परिचालन गरिएको थियो।

प्रधानमन्त्री कार्नीले सैन्य तथा आपत्कालीन उद्धार टोलीले रातभर अत्यन्त कठिन परिस्थितिमा आगो नियन्त्रण गर्ने प्रयास गरेको बताए। घाइते हुनेहरूमा रिजर्भिस्ट अर्थात् अतिरिक्त सैनिक तथा प्रिन्सेस प्याट्रिसियाज क्यानडियन लाइट इन्फ्यान्ट्रीका सदस्यहरू रहेका छन्।

क्यानडियन आर्म्ड फोर्सेसले जारी गरेको विज्ञप्तिमा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार आगलागीमा आतङ्कवादी समूह वा बाह्य हस्तक्षेपको संलग्नता रहेको सङ्केत फेला परेको छैन।

अल्बर्टाको राजधानी एडमन्टनबाट करिब २१० किलोमिटर पूर्वमा रहेको वेनराइट क्यानडाली सेनाले वास्तविक हतियार प्रयोग गरी सैन्य अभ्यास सञ्चालन गर्ने प्रमुख केन्द्रमध्ये एक हो। यहाँ क्यानडा तथा उसका मित्रराष्ट्रका सैनिकहरू तालिमका लागि आउने गर्छन्। सामान्य अवस्थामा यस बेसमा करिब ६९० सैन्य कर्मचारी र ३०० नागरिक कर्मचारी कार्यरत हुन्छन्।

रोयल अलेक्जान्ड्रा अस्पतालका आकस्मिक विभागका चिकित्सक वारेन थिर्स्कका अनुसार घाइतेको सङ्ख्या अत्यधिक भएकाले वेनराइटका स्वास्थ्य सेवा सुविधामा ठूलो दबाब परेको थियो।

प्रादेशिक स्वास्थ्य एजेन्सीका अनुसार उद्धार कार्यका लागि वेनराइटमा २२ वटा एम्बुलेन्स र आठवटा एयर एम्बुलेन्ससहित ३० वटा उद्धार एकाइ परिचालन गरिएको थियो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार रातभर एम्बुलेन्सहरू आवतजावत गरिरहेका थिए। अस्पतालको दृश्य युद्धसम्बन्धी चलचित्रजस्तै भयावह देखिएको उनीहरूले बताएका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!