काठमाडौं । ओमान सागरमा एक मालवाहक जहाजमा आगलागी भएपछि संयुक्त अरब इमिरेट्स (यूएई) को नेशनल गार्डले चालक दलका २२ सदस्यको उद्धार गरेको छ।
यूएईको नेशनल गार्डले आइतबार दिएको जानकारीअनुसार उद्धार गरिएका सबै २२ जना अरब देशका नागरिक हुन्। उनीहरूलाई प्राथमिक उपचारपछि सम्बन्धित निकायको जिम्मा लगाइएको छ। सबैको अवस्था स्थिर रहेको जनाइएको छ।
आगलागीको कारण र जहाजको पहिचानबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। साथै, उक्त घटनाको ओमान सागरमा पछिल्लो समय भइरहेका सैन्य गतिविधिसँग सम्बन्ध छ वा छैन भन्ने पनि स्पष्ट भइसकेको छैन।
यसअघि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले ओमान सागरमा इरानको नौसैनिक नाकाबन्दी उल्लङ्घन गर्ने प्रयास गरेको आरोपमा एक कार्गो जहाजलाई निशाना बनाएको जनाएको थियो।
सेन्टकमका अनुसार पटक–पटक चेतावनी दिँदा पनि चालक दलले अमेरिकी नाकाबन्दी उल्लङ्घन गर्ने प्रयास गरेको थियो। त्यसपछि अमेरिकी सैन्य विमानले सेन्ट किट्स एन्ड नेभिसको झन्डा बोकेको ‘एमभी हुडा’ नामक जहाजको पछिल्लो भागमा सटीक हतियार प्रहार गरी त्यसलाई निष्क्रिय बनाएको थियो।
दुई घटनामा संलग्न जहाज एउटै हुन् वा फरक भन्नेबारे अहिलेसम्म पुष्टि भएको छैन।